
पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएपछि उनी सत्ताबाट बाहिरिने लगभग निश्चित भएको छ ।
सेनाले समेत इमरानको साथ छोडिसकेको बताइन्छ ।
सेनाप्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल विस्तार तथा गुप्तचर संस्था आईएसआई चीफको नियुक्तिका विषयमा सेना र सरकारबीच तनाव रहेको बताइएको छ ।
आगामी नोभेम्बर महिनामा बाजवाको कार्यकाल सकिँदैछ । गत जनवरीमा इमरानलाई यस बारेमा प्रश्न गर्दा उनले केही नसोचेको बताएका थिए । अहिले नै त्यसको चिन्ता किन गर्नु भनी उनले धारणा राखेका थिए । यसलाई इमरानले बाजवालाई सेनाप्रमुखका रूपमा देख्न नचाहेको भनी व्याख्या गरिएको थियो ।
इमरानले आईएसआईका पूर्व प्रमुख जनरल फैज हमीदलाई सेनाप्रमुख बनाउन चाहेको बुझिएको छ ।
हमीद अहिले पाकिस्तानी सेनाको पेशावरस्थित ११औं कोरका कमान्डर छन् । अफगानिस्तानमा तालिबानले नियन्त्रण कायम गरेलगत्तै उनलाई उक्त पदमा नियुक्त गरिएको थियो । पाकिस्तानी सेनाको पेशावर कोरले नै अफगानिस्तान सीमालाई सुरक्षा दिने गरेको छ ।
हमीदले तालिबानलाई अफगानिस्तान नियन्त्रण गर्न महत्त्वपूर्ण योगदान गरेका थिए । उनको दबाबमा नै तालिबानले हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानीलाई गृहमन्त्री बनाएको हो । पंजशिरमा तालिबानको नियन्त्रणमा पनि हमीदको योजना थियो । हमीद इमरान खानकी पत्नी बुशरा बीबीको पनि निकट मानिन्छन् ।
पाकिस्तान सरकारमा सेनाको प्रभावका विषयमा सारा संसारलाई थाहा छ । सन् २०१८ को निर्वाचनमा इमरान खानको पार्टी सेनाको सहयोगमै सत्तामा आएको बताइएको थियो ।
त्यसैले हमीदलाई सेनाप्रमुख बनाएर इमरान खानले सन् २०२३ को निर्वाचन पनि जित्न खोजेका हुन सक्छन् । तर अहिलेको परिस्थिति हेर्दा इमरानलाई यसो गर्न निकै गाह्रो देखिन्छ ।