
युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आक्रमणका क्रममा राजधानी किभस्थित ऐतिहासिक डोर्मिसन क्याथेड्रलमा आगलागी हुँदा भवनमा ठूलो क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार किभमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने उत्तरपूर्वी शहर खार्किभमा रुसी आक्रमणपछि लागेको आगो निभाउने क्रममा पाँच जना उद्धारकर्मीको ज्यान गएको छ । किभमा कम्तीमा २३ जना र खार्किभमा पाँच जना घाइते भएका छन् ।
किभका मेयर भिताली क्लिच्कोका अनुसार ड्रोन र मिसाइल आक्रमणका कारण भवन तथा सवारीसाधनमा आगलागी भएको छ भने एक लाख ४० हजारभन्दा बढी नागरिक विद्युत् सेवाविहीन भएका छन् । सोमबार बिहान युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो ।
११ औं शताब्दीमा निर्मित डोर्मिसन क्याथेड्रल किभ–पेचेर्स्क लाव्रा मठ परिसरभित्र पर्छ, जुन युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ । आक्रमणपछि क्याथेड्रलको एक भागमा ठूलो प्वाल परेको तथा आंशिक रूपमा ध्वस्त छानाबाट आगोको ज्वाला देखिएको थियो ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस घटनालाई ‘आजको समयमा इसाई संस्कृतिविरुद्ध भएका सबैभन्दा ठूला रुसी अपराधमध्ये एक’ भएको बताएका छन् । उनका अनुसार रातभर रुसले ७० वटा मिसाइल र ६११ वटा ड्रोन प्रहार गरेको थियो । पछि आगो नियन्त्रणमा आएको उनले जनाएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंनले पनि उक्त आक्रमणको निन्दा गर्दै विश्व सम्पदामाथिको आक्रमणलाई कुनै पनि कारणले जायज ठहर गर्न नसकिने बताएका छन् ।
यता रुसले भने क्याथेड्रललाई आफूले निशाना नबनाएको दाबी गरेको छ । रुसी पक्षले अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीको मिसाइल लक्ष्यबाट विचलित भएर क्याथेड्रलमा लागेको हुन सक्ने जनाएको छ, यद्यपि त्यसको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरिएको छैन ।
रुसी सेनाले आफ्नो व्यापक आक्रमण युक्रेनका सैन्य संरचनालाई लक्षित गरिएको दाबी गरेको छ ।
यसैबीच, युक्रेनले रुसको तुला शहरमा गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक वर्षे बालकसहित तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यो आक्रमण फ्रान्समा यसै साता हुने जी–७ राष्ट्रहरूको शिखर बैठकअघि भएको हो । बैठकमा युक्रेन युद्ध प्रमुख एजेन्डामध्ये एक रहनेछ । राष्ट्रपति जेलेन्स्कीले जी–७ बाट रुसमाथि थप दबाब र युक्रेनलाई विशेषगरी एन्टी–ब्यालिस्टिक मिसाइलसहितको हवाई प्रतिरक्षा सहायता उपलब्ध गराउने विषयमा निर्णायक कदम अपेक्षा गरेको बताएका छन् ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण शुरू गरेयता डोर्मिसन क्याथेड्रल प्रभावित भएको यो पहिलो घटना भने होइन । गत जनवरीमा पनि किभ–पेचेर्स्क लाव्रा परिसरका केही संरचनामा रुसी आक्रमणबाट क्षति पुगेको युक्रेनको संस्कृति मन्त्रालयले जनाएको थियो । दोस्रो विश्वयुद्धका क्रममा समेत उक्त क्याथेड्रल लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो ।