
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आइतबार रूपन्देहीमा आयोजित लुम्बिनी वास्तु सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दिगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
वास्तुशास्त्रले मानव जीवन, प्रकृति र निर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै उनले यसको अध्ययन, अनुसन्धान र व्यवहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताए ।
मुख्यमन्त्री आचार्यले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।