
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्राधिकरणले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेशसहित ती तीनै प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जनाएको छ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने प्राधिकरणले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणले निरन्तर वर्षासँगै अचानक बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
प्राधिकरणले विशेषगरी खोला, खहरे र नदी आसपास यात्रा गर्ने, पहिरोको जोखिम रहेका स्थानमा बसोबास गर्ने तथा नदी किनारका बासिन्दालाई थप सावधानी अपनाउन आग्रह गरेको छ। सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ।
यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा आवश्यक परे तत्काल सञ्चालन गर्न सकिने गरी डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा विपद् व्यवस्थापनमा संलग्न साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वयमा रहन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।