१७ असार २०८३, बुधबार

‘नमूना घर’ले दिएको खुशी

‘नमूना घर’ले दिएको खुशी

रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारले नमूना घर पाएका छन् । 

वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई नमूना वस्ती नै हस्तान्तरण गरेको हो । 

नमूना बस्तीमा घर पाउँदा आर्थिक रूपमा विपन्न भएका परिवार खुशी भएका छन् । सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुन सक्ने परिवारको लागि भन्दै सैनामैना नगरपालिका–११ कञ्चन खोलाको किनारमा नमूना वस्ती निर्माण गरेको थियो । 

तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा १ शौचालय र ३ वटा कोठा रहेका छन । 

आर्थिक वर्ष २०७५/७६ बाट शुरू गरिएको बस्ती निर्माणमा एक करोड ८६ लाख ५७ हजार रूपैयाँ बजेट लगानी भएको नगरपालिकाका इन्जिनियर अरूण खनालले जानकारी दिए । 

नगरपालिकाले निर्माण गरेका १० वटा घरमध्ये बिहीवार ९ वटा घर हस्तान्तरण गरिएको हो । नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले नगरपालिकाका सबै वडाबाट एक एक जना सबभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको जानकारी दिए ।

चक्रपथ निर्माणको क्रममा सैनामैना वडा नं. ५ मा रहेको सानो घरसमेत भत्काएर विस्थापित बनेकी राजकुमारी थारूले नगरपालिकाले घर बनाएर दिएपछि खुशी लागेको बताइन् । 

विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खीमलाल भट्टराईले सरकार नागरिकका हरेक दुःखसुखमा सँगै रहनुपर्ने बताए । हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक १ सय रूपैयाँ शुल्क लिने गरी कार्यविधि बनाएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । 

घर जग्गा सबै हस्तान्तरण गर्दा विपन्न परिवारले बिक्री गर्ने र फेरि घरबारविहीनको अवस्थामा पुग्न सक्ने भएकोले नगरपालिकाले १ सय रूपैयाँ शुल्क लिएर लिजको रूपमा घर उपलब्ध गराउने गरी कार्यविधि बनाएको उनले बताए ।

जनताको तटबन्धन कार्यक्रममार्फत कञ्चन खोलामा गरिएको तटबन्धनपछि धेरै जग्गासमेत सुरक्षित बन्दै जाने र सोही जग्गामा विपन्न परिवारका लागि बस्ती  थप गर्दै लैजाने नगरपालिकाको योजना रहेको छ । 

निर्माण सम्पन्न भएका १० वटा घरसहितको नमूना बस्तीमा ताल लगाएर बारिएको भए पनि कम्पाण्ड वाल लगाउने काम बाँकी रहेको छ । नगरपालिकाले खेल मैदान बनाउने, बिजुलीको पोल विस्तार र तटबन्धनको काम समेत गर्दै जाने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्