२६ जेठ २०८३, मंगलबार

भारत भ्रमणमा प्रधानमन्त्री देउवा : विदेशमन्त्रीसँग भेटे, समकक्षीसँग आज भेट्दै

भारत भ्रमणमा प्रधानमन्त्री देउवा : विदेशमन्त्रीसँग भेटे, समकक्षीसँग आज भेट्दै

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार अपराह्न नयाँदिल्ली पुगेर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग शुक्रवारै अपराह्न भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । 

उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारे पनि छलफल गरेका थिए । नेपाली कांग्रेस र भारतीय जनता पार्टी बीचको सम्बन्धबारे पनि उनीहरूबीच विचारविमर्श भएको छलफलमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए ।

प्रधानमन्त्रीका साथ प्रथम महिला डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव छन् ।

शुक्रवारै साँझ प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनको भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

चैत १९ गते शनिवार भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ । – कृष्ण अधिकारी/रासस 

salt training

कमेन्ट गर्नुहोस्