
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिवार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्त्वपूर्ण घोषणा हुने भएको छ ।
शुक्रवार नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा हुने जानकारी दिएका हुन् ।
उनले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताए ।
नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा २ पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए । आफ्नो भ्रमणबाट नेपाल–भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन् ।
नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका खातिर योगदान गर्न प्रवासी नेपालीलाई आह्वान गरे ।
आगामी वैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकैचरणमा सम्पन्न गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिँदै उनले संघीय संसद्को निर्वाचन पनि समयभित्रे सम्पन्न गरिने बताए ।
प्रजातन्त्र, मानवअधिकारको संरक्षण र सुशासन कायम गरी संघीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने अभिभारा वर्तमान सरकारका सामु रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘संविधान जारी गरेपछि ३ वटै तहका निर्वाचन मेरो नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको थियो । अब फेरि १ वर्षभन्दा कम समयमा प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकारसामु आएको छ ।’ – कृष्ण अधिकारी/रासस