२२ असार २०८३, सोमबार

पूर्व राष्ट्रिय खेलाडी सुशीलले सपना देखेर निर्माण भएको नमूना क्याम्पा रंगशाला

चैत १९, २०७८
पूर्व राष्ट्रिय खेलाडी सुशीलले सपना देखेर निर्माण भएको नमूना क्याम्पा रंगशाला

महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ साहित्यिक क्षेत्रमा चर्चित मानिन्छ । हेटौंडाको पिप्ले युवा क्लबका अध्यक्ष तथा नेपालका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरेले लिएको महत्त्वकांक्षी उद्देश्य चन्द्र छोएजत्तिकै भएको छ ।

घिमिरेको अगुवाइमा देशकै नमूना क्याम्पा रंगशाला निर्माण भएर उदाहरणीय काम भएको छ । घिमिरे १२ वर्षको उमेरदेखि ‘मार्सल आर्ट’ क्षेत्रमा प्रवेश गरेका थिए । पछि मार्सल आर्टमा राम्रो भविष्य नदेखेपछि २०५४ सालमा बक्सिङ खेल्न शुरू गरेका उनले ६४ किलोग्राम तौल समूहको राष्ट्रिय प्रतिस्पर्धामा लगातार १० वर्ष जीत हासिल गरे ।

बक्सिङमा मिलेको ठूलो उपाधि श्रीलंकामा भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक रहेको उनले बताए । २०५८ सालमा भएको नेसनल बक्सिङ च्याम्पियनसिपमा उनी २० वर्षको हुँदा पहिलोपटक नेपाल च्याम्पियन भएका थिए । १२ अन्तर्राष्ट्रिय खेलमा उनले ३ वटा उपाधि जितेको बताए ।

सन् २००४ मा विभागीय टोली सशस्त्र प्रहरीमा बक्सिङ खेलाडीका रूपमा आवद्ध भएको बताउँदै उनले सशस्त्रको टीमबाट खेल्न शुरू गरेपछि ६४ किलोग्राम तौल समूहमा निरन्तर १० वर्ष बक्सिङ च्याम्पियन बनेको बताए । २०६० सालदेखि आफू निरन्तर राष्ट्रिय च्याम्पियन भएको उनले बताए ।

घिमिरे भन्छन्, ‘सानोमा काठमाडौंमा बक्सिङ प्रतियोगिता भएको थियो । त्यहाँ खेल्न जाँदा पहिलोपटक दशरथ रंगशाला घुम्न पुगे, रंगशाला देखेपछि आफ्नो ठाउँमा पनि यस्तै रंगशाला भइदिए हुन्थ्यो भन्ने सधैं मनमा लागिरहन्थ्यो । त्यो सयममा रंगशाला बनाउन सक्ने आँट नभए पनि सरकारले बनाउँछ कि भन्ने पनि आश थियो । यदि सरकारले बनाएन भने आफैंले बनाउँछु भन्ने सपना पनि बोकेर हिँड्थे सधैं ।’

खेल जीवन निरन्तर चलिरहँदा साथीहरूको लहलहैमा लागेर खेल छाडेर मकाउ पुगेको घिमिरेले बताए । ‘मकाउको बसाइमा पनि निरन्तर रंगशाला बनाउने कुरा खेलिरहन्थ्यो,’ उनले भने, ‘७ वर्ष मकाउ बसें, त्यहाँ बस्दा साथीभाइको कपाल काटेर आएको पैसा जम्मा गरेर रंगशाला निर्माणका लागि अक्षयकोष बनाएँ ।’

घिमिरेले २०५५ सालतिर ६ वर्ष पिप्ले चोकमा आफू र क्लबका साथीभाइ मिलेर सैलुन पनि चलाएको सम्झिए । ‘कपाल काटेबापत सैलुनबाट प्रतिव्यक्ति आउने ५ रुपैयाँ जम्मा गरेर क्लबको जर्सी किन्ने र खेल हुँदा खेलाडीलाई ग्लुकोज पानी खुवाउन र खाजा खान खर्चिन्थें,’ उनले भने । जम्मा गरिएको पैसाबाट अन्य ठाउँमा हुने प्रतियोगितामा क्लबका खेलाडीहरूलाई खेल्न लैजाने गरेको समेत उनले सम्झिए ।

‘मैले त्यही पुरानै कामलाई निन्तरता दिँदै मकाउमा समय मिलाएर कपाल काटें,’ उनले भने, ‘त्यहाँ रेस्टुरेन्टमा काम गर्थें, त्यहाँको ड्युटीबाट छुटेपछि साथीको घर, कोठा पुगेर घरको भर्‍याङमुनि ३०० रुपैयाँमा कपाल काट्थें । नेपाल आएपछि अक्षयकोष स्थापना गरेर १० लाख जम्मा गर्छु भन्ने सोचेको थिएँ ।’ कपाल काटेको पैसा कभर्ड हल र रंगशाला निर्माणमा खर्च भएको उनले बताए ।

२०७७ फागुनमा हेटौंडामा भएको गोल्ड कपको क्रममा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतलाई गोल्डकपको उद्घाटन कार्यक्रममा भेटेर उनले भने, ‘मेयर सा’प कतिञ्जेलसम्म यस्तो बाँसको प्याराफिटमा बसेर खेल हेर्ने ? आफ्नै ठाउँमा राम्रो रंगशाला बनाउन पाए हुन्थ्यो नि !’

मेयर महतले सकारात्मक जवाफ दिएपछि घिमिरेलाई थप हौसला मिल्यो । त्यसलगतै २०७८ वैशाखदेखि रंगशाला निर्माणका लागि मैदानको नापजाँच लगायत निर्माण लागत अनुमान गरियो । रंगशाला निमार्णका लागि ४ करोड अनुमानित लागत मूल्यांकन गरियो तर लागत अनुमानभन्दा आधा कम अर्थात् १ करोड ७० लाख रुपैयाँमा रंगशाल निर्माण सम्पन भएको घिमिरेले बताए ।

हेटौंडा उपमहानगरपालिका र जनसमुदायको सहयोगमा निर्माण भएका कारण लागत कम पर्न गएको घिमिरेले बताए । रंगशाला निर्माण गर्न हेटौंडा उपमहानगरपालिका, ५ नम्बर वडा कार्यालय र व्यक्तिगत रूपमा पनि सहयोग प्राप्त भएको उनले बताए ।

करीब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशालामा करीब १० हजार दर्शक अटाउने घिमिरेले बताए । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको उनले बताए । जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन भएको घिमिरेले बताए । निर्माण कार्यमा लाग्ने श्रम स्थानीयले जनश्रमदानमा सहयोग गरेका हुन् ।

सुशील घिमिरे रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट कुनै पनि आर्थिक सहयोग नरहेको उनले बताए । यसअघि पनि उनले हेटौंडा–५ पिप्लेमा बक्सिङ रिङ सहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाइसकेको बताए । ‘कभर्ड हल निर्माण लागत मूल्यांकन १ करोड २५ लाख गरिएकोमा हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानबाट सम्पन गरिएको थियो,’ उनी भन्छन्, ‘म पनि खेलाडी हो । खेल क्षेत्रप्रति छुट्टै लगाव छ । बागमती प्रदेशको राजधानीको रूपमा रहेको हेटौंडामा खेलकुदका लागि एउटा रंगशाला आवश्यक थियो । रंगशाला निर्माण हुनु भनेको खेल क्षेत्रको विकास हुनु हो ।’

आगामी दिनमा रंगशालाले थुप्रै खेलाडी उत्पादन गर्ने विश्वास लिएको उनले बताए । नवनिर्मित रंगशालामा हालै मात्र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रथम बागमती खेलकुद प्रतियोगिताको फूटबल तर्फको खेल सम्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्