०१ असार २०८३, सोमबार

पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूलले स्वागत

पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूलले स्वागत

फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी ।

ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृश्य पाथीभरा मन्दिर जाने पदमार्गको हो । 

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै अहिले  पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिएको छ ।

निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिने बित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ । 

लालीगुराँसले यतिबेला पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बनाएको छ । फागुनको अन्त्यतिर कोपिला लाग्न शुरू हुने लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यसवर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयले बताएका छन् ।

लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दछ ।  

पाथीभरा जाने पदमार्गमा ढकमक्क गुराँस फुलेपछि  तीर्थयात्रीको संख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्न एकै पटक मिल्ने भएकाले अहिले तीर्थयात्रीको संख्या बढ्दै गएको छ । 

नवरात्रको समयमा पाथीभरा क्षेत्रमा पूजापाठ गर्ने समय र यसै समय प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्नेयाम शुरू भएकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

गत शनिवार मात्र ६ हजार ८७७ तीर्थयात्री दर्शन पाथीभरा क्षेत्रमा पुगेको थियो । आइतवार ३ हजार ८०० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्