
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला नेपाली दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा भएको उल्लेख गर्दै आपत्ति जनाए ।
आइतवार नेपाल बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनमा बोल्दै उनले देशको नक्सा नै गायब बनाउने योभन्दा अरु राष्ट्रिय लज्जाको विषय अरु केही नहुने बताए । यसअघि प्रधानमन्त्री देउवाले सरकारको सय दिनको कार्यक्रम प्रकाशित गरेको पुस्तिकामा पनि संविधानले व्यवस्था गरेको चुच्चे नक्सा हटाएको प्रसंग उल्लेख गर्दै ओलीले सरकारले मुलुकको भौगोलिक अखण्डतामाथि सौदाबाजी गर्दा पनि चुप लागेर बसेको भन्दै बुद्धिजीवीप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भारत भ्रमणबाट फर्कंदा नेपाली दूतावासमा बुच्चे नक्सा नै झुण्ड्याएर आउने कि हटाएर आउने भनि प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे । विगतमा कुनै पनि सरकारले आँट नगरेको विषय नेपालको भूमि समेटेर बनाइएको चुच्चे नक्सा ५ दलीय देशद्रोही गठबन्धन सरकारले हटाएको आरोप समेत उनले लगाए ।
उनले भने, ‘शेरबहादुर जीले सरकारको सय दिन भनेर उहाँको सरकार बनिसकेपछि सय दिन पूरा भएपछि सरकारको सय दिनको काम गर्नुभयो र त्यसमा अगाडि राष्ट्रको प्रतिक चिह्न राख्नुभयो । संविधानले भनेको, पछि संशोधन गरेर संविधानले भनेको नेपालको नक्सा, चुच्चे नक्सा भएको लोगो सहितको प्रतिकचिह्न छ राष्ट्रको । त्यो अगाडि राख्नु भो तर चुच्चे नक्साबाट चुुच्चो हटाउनुभो । बुच्चे नक्सा राख्नु भो । सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको सय दिनमा चुच्चे नक्सा हटाउने भयो । के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलबाड, के यो साधारण कुरा हो ? मैले थुप्रै ठाउँमा बोले – शेरबहादुर देउवाजीले सरकारका सय दिन भनेर हिजो मात्रै भारतको दिल्लीस्थित नेपाली दूतावासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको नक्सा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको शिर निहुँर्याउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ? मैले शेरबहादुरजीलाई अस्ति सोधेको थिए कि किन जानु भएको हो शेरबहादुरजी दिल्ली ? फर्केर आएपछि सोधौंला भनेको थिएँ । यहाँ राष्ट्रिय बेइमानीका लागि उहाँ जानुभएको हो दिल्ली ? केका लागि जानुभएको हो ? फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो सरकारले बनाएर संविधान संशोधन गरेर राखेको नक्सा, त्यो नक्सा झुण्ड्याएर फर्कनुहुन्छ कि हटाएर फर्कनुहुन्छ शेरबहादुरजी ? अहिलेको ५ दलीय गठबन्धन, यो ५ दलीय गठबन्धन सत्ताका लागि राष्ट्रियता, भौगोलिक अखण्डतासँग यत्रो सौदाबाजी गर्छ । अब बुद्धिजीवीहरूले हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि ? यसकाविरुद्ध उभिने । यो व्यक्तिको पक्षमा होइन । यो त राष्ट्रको पक्षमा भौगोलिक अखण्डताको सन्दर्भमा शेरबहादुर देउवालाई सोध्नुपर्ने, ५ दलीय देशद्रोही गठबन्धनलाई सोध्नुपर्ने कुरा के हो भने – चुच्चे नक्सा खै ? भौगोलिक अखण्डतासँग खेलबाड गर्न पाइन्छ ? पहिले चुच्चे नक्सा बनाउने आँट कसैले गरेन । बनाइयो, त्यसलाई हेरफेर गर्न कसैले पनि सक्दैन ।’
ओलीले आफ्नै पार्टीको सरकार हटाएर कांग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधव नेपाललाई कटाक्ष पनि गरे । आफ्नै सरकार हुँदा शेर रहेकाहरू ४ वटा मन्त्रालय नभई हुँदैन भनेर लल्लू बन्न पुगेका उनको भनाइ थियो । अध्यक्ष ओलीले आफ्नै सरकार र सिङ्गै मन्त्रालय हुँदा कामै गर्न नदिएको पनि दोहोर्याए ।
उनले भने, ‘यिनीहरू अहिले दुना थापेर हिँडदैछन् कांग्रेसको पछिपछि । अहिले माकुनेको गुट छ नि ! दुना थापेर हिँड्छ नि ! यिनीहरूले आफ्नो सरकार हटाएर मन्त्रीमा बार्गेनिङ गर्न पुगे । सबै सरकार आफ्नो थियो । त्यसको ठाउँमा ४ वटा मन्त्री नभई भएन भनेर हात थापे । कहाँ शेर थिए, लल्लु भए । ४ वटा मन्त्रालयन भई हुँदैन भने । २५ वटा मन्त्रालय थियो, प्रधानमन्त्री आफ्नै थियो ।’
ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र समेत ध्वस्त बनाएको दाबी गरे ।