०२ साउन २०८३, शनिबार

निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलशाययुक्त आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन् ।

‘हिमालय हाइड्रो एक्स्पो–२०२२’ को समापन समारोहमा सोमवार आयोजित कार्यक्रममा उनले निजी क्षेत्र नदी प्रवाह (आरओआर)मा आधारित जलविद्युत्को उत्पादनभन्दा पनि ठूला जलाशययुक्त आयोजना निर्माणमा जुट्नुपर्ने बताइन् ।  

'निजी क्षेत्रले जलाशययुक्त आयोजनामा लगानी गरेको अवस्था छैन,' उनले भनिन्, 'नदी प्रवाहमा आधारित उत्पादनको विद्युत् खरिद सम्झौता हुँदैन, अब निजी क्षेत्रले पनि जलाशययुक्त आयोजनामा लगानी बढाउनेतर्फ ध्यान दिनुपर्छ ।' 

नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाबाट सुख्खायाममा तोकिएको परिमाणमा विद्युत् उत्पादन गर्न नसक्ने अवस्था रहेको र उत्पादन घट्दा व्यवस्थापनमा समस्या आउने देखिएको उल्लेख गर्दै मन्त्री भुसालले अब ठूला जलाशययुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताइन् । 

नेपाल विद्युत् प्राधिकरणले पछिल्ला तीन वर्षदेखि नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न रोकेको छ । सुख्खायाममा हुने विद्युत्को व्यवस्थापनलाई सहज बनाउन सरकारले पनि ठूला जलाशाययुक्त आयोजनाको निर्माणलाई प्राथमिकतामा राखेको छ । 

सरकारले दूधकोशी, बूढीगण्डकी, नलगाड र पश्चिम सेतीजस्ता जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको मन्त्री भुसालको भनाइ छ । ठूला आयोजनाको निर्माणलाई तीव्रता दिन सरकारले त्यस्ता आयोजनाबाट उत्पादित बिजुली खरिदको अनुमति विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले दिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिइन् । 

भारतको बजार खुल्यो, बंगलादेशको पनि खुल्दैछ

विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न तथा खेर जाने पानीलाई विद्युतमा रुपान्तरण गरेर क्षेत्रीय बजारमा बिक्री गरी मुलुकको आर्थिक रुपान्तरण गर्न जलविद्युतमा सरकार, निजी क्षेत्रका साथै वैदेशिक लगानी पनि भित्र्याउने तयारी भइरहेको उनले बताइन् ।  

प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणबाट भारतमा नेपालका बिजुली बिक्री गर्नका लागि सम्झौता भएको जानकारी दिँदै उनले बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) सम्मिलित उपक्षेत्रीय संयन्त्रमार्फत ब‌ंगलादेशमा पनि विद्युत् व्यापारको ढोका खुल्ने विश्वास दिलाइन् । 

'नेपालमा खपत भएर बढी भएको बिजुली भारतमा बिक्री गर्ने अवसर प्राप्त भएको छ,' मन्त्री भुसालले भनिन्, 'भारतको बजार खुलिसकेको छ, अब बंगलादेशको बजार पनि खुला हुँदैछ ।'

कार्यक्रममा मन्त्री भुसालले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको स्पष्ट पारिन् । 

विद्युत् ऐनमा निजी क्षेत्रले विद्युत् व्यापार गर्ने प्रावधान नभएको र कार्यविधि बनाएर निजी क्षेत्रलाई अनुमति दिन नसकिने भनी कानून मन्त्रालयबाट राय प्राप्त भएको जानकारी गराउँदै उनले अध्यादेशमार्फत ऐन संशोधन गरेर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्