३० जेठ २०८३, शनिबार

चीनलाई हिन्द महासागरमा चुनौती दिन भारतले चाल्यो नयाँ कदम

चैत ३०, २०७८
चीनलाई हिन्द महासागरमा चुनौती दिन भारतले चाल्यो नयाँ कदम

हिन्द महासागर क्षेत्रमा चीनको गतिविधिमा अंकुश लगाउन भारतले एक निर्णय लिएको छ ।

बहराइनमा भएको अमेरिकी नेतृत्वको महागुटमा भारत पनि जोडिएको छ । बहूद्देशीय समुद्री साझेदारी अन्तर्गत भारत कम्बाइन्ड मेरिटाइम फोर्स (सीएमएफ) मा जोडिएको छ । 

अरब सागर क्षेत्रभित्र र बाहिर समुद्री सुरक्षा र पाइरेसी रोक्नका लागि यो विश्वव्यापी फोर्सले काम गर्छ । 

अमेरिकाले हिन्द महासागर र हिन्द प्रशान्त क्षेत्रमा चीनलाई चुनौती दिनका लागि भारतको भूमिका सर्वोपरि रहेको बताएको छ । त्यसैले भारत ३४ देशको जलक्षेत्रीय गठबन्धनमा प्रवेश गरेको हो । 

अमेरिका तथा भारतका रक्षा र परराष्ट्रमन्त्रीहरूको दुई जोड दुई बैठकमा भारतीय जलसेनासँग समुद्री सहयोग थप बढाउने विषयमा कुराकानी भएको छ । सीएमएफमा भारत जोडिएपछि अमेरिकाले त्यसको स्वागत गरेको छ । 

सीएमएफको नेतृत्व अमेरिकी जलसेनाका भाइस एडमिरलले गर्छन् भने बेलायती रोयल नेभीका कमोडोर त्यसका डेपुटी कमान्डर हुन्छन् । हेडक्र्वाटरमा सदस्य देशका अधिकारी मुख्य भूमिकामा हुन्छन् । 

सीएमएफ खासमा अन्तर्राष्ट्रिय नियमअन्तर्गत समुद्री सुरक्षामा सुधार, खुला व्यापार र अवैध गतिविधि रोक्नका लागि बनाइएको हो । 

तर यसलाई अमेरिका र बेलायतले चीनको प्रभाव रोक्नका लागि उपयोग गर्न खोजेका छन् । 

हिन्द महासागर क्षेत्रमा रहेका देशमा चीनको कुल निर्यातको लगभग ८ प्रतिशत जाने गरेको छ । हिन्द महासागर हुँदै जाने समुद्री बाटोका कतिपय गौंडाहरू साँघुरा छन् । त्यहाँ आउनसक्ने सम्भावित खतरालाई रोक्न चीनले जलसेना तैनाथी बढाउन सक्छ । 

आफ्नो व्यापारिक हितका लागि चीनले जलसेना तैनाथी गर्दा अन्य मुलुकलाई रणनीतिक जोखिम आइलाग्न सक्छ । त्यही क्षेत्रको मुलुक भारत पनि त्यस्तो जोखिममा पर्न सक्छ । 

त्यसैले चीनबाट तेर्सिन सक्ने जोखिम घटाउन भारत सीएमएफमा जोडिएको हो । हिन्द महासागरमा गोप्य रूपमा आइपुग्ने चिनियाँ पनडुब्बीहरूलाई रोक्न सीएमएफले कारवाही चलाउने अपेक्षा भारतले गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्