
जाजरकोटको नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ ।
उनको मोबाइलमा नमस्तेको नेटवर्क सधैं आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको खत्रीले बताए ।
नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने, फोन डायल गर्नेबित्तिकै नलाग्ने समस्याले गर्दा सेवाग्राही हैरान भएको खत्रीले पीडा सुनाए । ‘एनसेल महंगो छ तर राम्रो कुरा आवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।
उनीजस्तै नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई समेत फोन नलाग्ने र लागे पनि नबुझिने समस्याले गर्दा दिक्क लागेको छ । फोनमा समस्या आएको कुरा नेपाल टेलिकमलाई जानकारी पनि गराएको छ तर टेलिकमले त्यो गुनासो सुने पनि नसुनेझै भएको छ ।
फोरजी सेवा विस्तारसँगै फोनमा समस्या आएको सेवाग्राहीको गुनासो छ । बिहान र बेलुकी मात्र थोरै भए पनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरू हैरान भएको नलगाड–८ कै फत्तबहादुर खत्रीले जानकारी दिए । यो समस्या भएको २ महिना बढी भइसके पनि सुनुवाइ नभएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए ।