
गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा २०७५ फागुनमा सरकार र तत्कालीन सीके राउत समूहबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा भेटवार्ता भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।
भेटमा गृहमन्त्री खाणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आएकामा खुशी व्यक्त गरे । साथै उनले स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको बताए ।
सहमति कार्यान्वयनका लागि चाँडै अर्को बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । गृहमन्त्री खाणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।