०७ असार २०८३, आइतबार

सुन्दरहरैचाको मेयरमा कांग्रेसभित्र लफडा : संस्थापन पक्ष र इतर समूहले सिफारिस गरे छुट्टाछुट्टै नाम

बैशाख ९, २०७९
सुन्दरहरैचाको मेयरमा कांग्रेसभित्र लफडा : संस्थापन पक्ष र इतर समूहले सिफारिस गरे छुट्टाछुट्टै नाम

मोरङको सुन्दहरहरैचामा मेयरको टिकटको विषयलाई लिएर नेपाली कांग्रेसमा विवाद उग्र बनेको छ । 

मेयरमा कसलाई टिकट दिने भन्ने विषयमा भएको विवाद नटुंगिएपछि संस्थापन पक्ष र इत्तर पक्ष दुवैले फरक फरक नाम सिफारिस गरेका छन् ।

कांग्रेस नगर कार्यसम्पादन समितिले बुधवार नगर सभापति भक्ति सिटौलाको एकल नाम सिफारिस गरेको थियो । सिटौला शेखर कोइराला पक्षधर नेता हुन् । संस्थापन इतरले बहालवाला मेयर शिव प्रसाद ढकालको नाम भने सिफारिस गरेन ।

संस्थापन इत्तर पक्षले सिटौलाको नाम सिफारिस गरेपछि रुष्ट बनेका संस्थापन पक्षले बिहीवार छुट्टै बैठक बसी मेयरमा उम्मेदवारी दिन ४ जनाको नाम सिफारिस गरेको छ । जसमा संस्थापन इतरका सिटौलासहित, मेयर ढकाल, नेताहरू मित्रसेन योन्जन र देवराज तामाङको नाम सिफारिस गरिएको नगर सचिव होम प्रसाद पोखरेलले बताए ।

पार्टीभित्र भाँडभैलो

छुट्टाछुट्टै बैठकबाट मेयरमा उम्मेदवार सिफारिस गरिएपछि संस्थापन इतर समूहले सचिव पोखरेलले मेयर ढकालबाट पैसा लिएर अन्य सिफारिस गरेको आरोप लगाएको छ ।

गत नगर अधिवेशनमा सचिव पोखरेल समेत संस्थापन इतर समूहमा रहेका थिए ।

‘सचिवकै प्रस्तावमा म सर्वसम्मत उम्मेदवार भएको थिएँ,’ सभापति सिटौलाले भने,‘सचिवले मेयरसँग पैसा लिएर नाम थपेर कांग्रेसलाई बदनाम बनाउन सिफारिस गरे भन्ने सुनेको छु ।’

नगर सभापतिको हस्ताक्षर नभएको सिफारिस मान्य नहुने भएकाले आफु नै एकल उम्मेदवार भएको समेत सभापति सिटौलाले बताए । 

यता मेयर ढकालले भने नगर समितिको बैठक नै नराखी सभापतिले आफ्नो शक्ति देखाएको आरोप लगाएका छन् । 

नगर समितिको बैठक नै नराखी एकलौटी ढङ्गले सिफारिस गरिएकाले जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा उजुरी गरेको समेत उनले बताए ।  

‘स्थानीय निर्वाचन अन्तर पार्टी निर्वाचन होइन तर, साथीहरूले यसलाई मजाकका रूपमा लिए,’ ढकालले भने, ‘निर्वाचनमा अन्य दलसँग प्रतिस्पर्धा गर्नुपर्नेमा कांग्रेस आफै भिडिरहेको छ । निर्वाचनको नतिजा कांग्रेसको पक्षमा आउँछ भनेर कसरी सोच्ने ?’

नेपाली कांग्रेसको संस्थापन इतर समूहको पकेट मानिएको सुन्दरहरैचामा संस्थापन समूह कमजोर रहेको छ । 

नेता शेखर कोइरालाको  निर्वाचन क्षेत्र समेत रहेको सुन्दरहरैचा उनको पकेट मानिन्छ ।

गत नगर अधिवेशनमा संस्थापन पक्षका नेताहरूले हारेका थिए । 

चैत्र ७ गते प्रधानमन्त्री समेत रहेका सभापति शेर बहादुर देउवा सुन्दरहरैचामा आउँदा संस्थापन इतरका नेताहरू भने गएका थिएनन् ।  

salt training

कमेन्ट गर्नुहोस्