२३ असार २०८३, मंगलबार

मलेसियाको रोजगारीमा अर्को दादागीरी: दबाबमा दर्जन कम्पनीलाई मात्रै कामदार पठाउने अनुमति

कात्तिक २०, २०७४
मलेसियाको रोजगारीमा अर्को दादागीरी: दबाबमा दर्जन कम्पनीलाई मात्रै कामदार पठाउने अनुमति
काठमाडौं, २८ असार – वैदेशिक रोजगारीका लागि नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियामा कामदार पठाउने मेनपावर कम्पनीको सिण्डिकेटको नयाँ खेल शुरु भएको छ ।

जम्मा एक दर्जन कम्पनीलाईमात्र मलेसिया कामदार पठाउन स्वीकृति दिनेगरी त्यसको ‘गेमप्लान’ अन्तिम चरणमा पुगेको व्यवसायीहरुले बताएका छन् ।


यदि यो योजना सफल भए मलेसिया जाने कामदारमाथि व्यवसायीको सिण्डिकेटले थप मान पर्न जाने व्यवसायीहरु बताउँछन् । हाल नेपालमा दर्तामा रहेका साढे आठ सय मेनपावर कम्पनीले गन्तव्य मुलुकमा कामदार आपूर्ति गर्दै आएका छन् । केही व्यवसायीको जोडबलले यो योजनाले सरकारी स्वीकृति पाए जम्मा १२ मेनपावर कम्पनीलेमात्र मलेसियामा नेपाली कामदार पठाउन पाउनेछन् । 

यसरी हुँदै छ चलखेल

मलेसियाको फरेन वर्कस सेन्ट्रलाइज म्यानेजमेन्ट सिष्टम (एफडब्लुसिएमएस) ले नेपालमा जम्मा १२ कम्पनीलाईमात्र मलेसियामा कामदार आपूर्ति गर्न पाउने अधिकार दिनेगरी त्यसको प्रक्रिया अघि बढाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले लोकान्तरलाई बताए । 

उक्त कम्पनीले मलेसियामा त्यसको निर्णय गरेको र नेपालमा पनि निर्णय गराउनका लागि चलखेल गरिरहेको जानकारी प्राप्त भएको छ ।

एफडब्लुसिएमएस मलेसियन सरकारद्धारा स्वीकृत प्राप्त संस्था हो । जसले नेपालबाट मलेसिया जाने कामदारका लागि स्वीकृति दिने काम गर्छ । मलेसिया जाने नेपाली कामदारलाई ठगी गरेको भनेर विवादित बायोमेट्रिक प्रणाली पनि यसैले सञ्चालन गर्छ ।

बंगलादेशका मोहमद अमिन यसका प्रमुख हुन् । उक्त संस्थाविरुद्ध ठगी गरेको आरोपमा बंगलादेशमा मुद्दा नै चलिरहेको व्यवसायीहरुले बताएका छन् ।

व्यवसायीहरुका अनुसार, एफडब्लुसिएमएसले नेपाली केही व्यवसायीको बलमा उक्त निर्णय गराउन सरोकारवाला निकायमा दौडधुप गरिरहेका छन् ।


कुनै पनि हालतमा सिण्डिकेट लागू गर्न दिन्नौं: संघ
वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने एफडब्लुसिएमएसले अघि बढाएको सिण्डिकेटको प्रक्रियाप्रति आपत्ति प्रकट गरेको छ ।

संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा कुनै पनि हालतमा सिण्डिकेट लगाउन नपाईने र यसका विरुद्ध संघले प्रतिवाद गर्ने लोकान्तरलार्ई बताए । ‘वैदेशिक रोजगारीमा कुनै पनि खालको सिण्डिकेट सह्य हुँदैन,’ उनले भने, ‘यसका विरुद्ध सम्पूर्ण व्यवसायी एकजुट भएर लाग्नु जरुरी छ ।’

तस्वीर: एसियन समाचार

salt training

कमेन्ट गर्नुहोस्