०४ साउन २०८३, सोमबार

मुस्ताङका ६ वडामा एकल उम्मेदवारी, यी हुन् निर्विरोध हुनेहरू

बैशाख १३, २०७९
मुस्ताङका ६ वडामा एकल उम्मेदवारी, यी हुन् निर्विरोध हुनेहरू

स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको ६ वटा वडामा एकल उम्मेदवारी परेको छ । 

लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । 

लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए । 

वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ । वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन् । वडा नं ४ को वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको मात्र उम्मेदवारी दर्ता भएको छ । 

लोघेकरको वडा नं २ र ५ मा कांग्रेस र एमालेले सबै पदमा मनोनयन दर्ता गरेका छन् । चारवटा वडामा दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन । घरपझोङ गाउँपालिका–१ मा कांग्रेसका आशबहादुर थकाली र २ मा कांग्रेसका मानबहादुर हिराचनको एकल उम्मेदवारी परेको छ ।

घरपझोङको वडा नं ५ मा एमालेका प्रदीप थकालीको एकल उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दाबी–विरोधलगायत प्रक्रिया पूरा भएपछि मात्र एकल उम्मेदवारी परेको ठाउँमा निर्विरोध घोषणा गर्ने जनाएको छ । घरपझोङको १, २ र ५ मा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच तालमेल भएको हो ।

माओवादीका उम्मेदवार निर्विरोध

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का एक वडा सदस्य निर्विरोध भएका छन् । 

माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहेकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध भएका हुन् । 

धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नम्बर वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताए । 

छन्त्याल निर्विरोध भएसँगै माओवादीले स्थानीय तह चुनावमा मतदान नहुँदै म्याग्दीमा खाता खोलेको छ । छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार भएका छन् । 

धवलागिरिको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी परेको छ । मुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमवार राति ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताए । 

गाउँपालिका अध्यक्षमा एमालेका थमसरा पुन, कांग्रेसका प्रेमप्रसाद पुन, नेकपा (एकीकृत समाजवादी)का बमबहादुर पाइजा, राप्रपाका होमबहादुर थापा र नेशनल मंगोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गरेका छन् । 

उपाध्यक्षमा एमालेका प्रगति कार्की, नेकपा (माओवादी केन्द्र)का रेशम पुन र मंगोल नेशनल अर्गनाइजेशनका खममाया रोकाको मनोनयन दर्ता भएको छ । थमसरा पुन एमालेबाट दोस्रोपटक धवलागिरिको अध्यक्षमा उम्मेदवार बनेका हुन् । 

एमालेका जिल्ला उपसचिवसमेत रहेकी पुन गत स्थानीय तह चुनावमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । 

धवलागिरिमा कांग्रेस र माओवादीले वडा तहसम्मनै तालमेल गरेका छन् । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका प्रेमप्रसाद पुन कांग्रेसको धवलागिरि गाउँपालिका सभापति हुन् । 

गाउँपालिका अध्यक्षमा एमालेबाट आकांक्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । 

थापा गत पुसमा भएको एमालेको पालिका अधिवेशनबाट धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा निर्वाचित भएका थिए । 

एमालेले धवलागिरिको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीलाई सोमवार बिहान मात्र उम्मेदवार छनोट गरेको थियो । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उम्मेदवार बनेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्