२४ जेठ २०८३, आइतबार

स्थानीय चुनावमा सर्लाहीका १७ उम्मेदवारविरुद्ध उजुरी

बैशाख १५, २०७९
स्थानीय चुनावमा सर्लाहीका १७ उम्मेदवारविरुद्ध उजुरी

सर्लाहीका विभिन्न स्थानीय तहमा १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

सबैभन्दा धेरै बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका ७ विरुद्ध उजुरी परेको हो ।  

बागमती नगरपालिकामा ४ उम्मेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत ध्रुबकुमार पियाले जानकारी दिए । बलरामा २ तथा लालबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा १–१ उजुरी दर्ता भएका छन् ।

ती उजुरीमाथि बिहीवार साँझसम्म छानबिन गर्ने र दोषी प्रमाणित भए उम्मेदवारी रद्द गरिने पियाले जानकारी दिए ।

बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बाग्मती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापाविरुद्ध उजुरी परेको हो । अन्य पालिकामा पनि विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थापाविरुद्ध प्रहरीको कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खिलकराज पौडेलले उजुरी दिए । पौडेल घटनामा मृतकका बुबाले दिएको किटानी जाहेरीमा थापाको नाम समेत भएको र सर्वोच्च अदालतले पनि छानविन गर्न आदेश दिएको उल्लेख गरिएको छ । सिंहविरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरको लेखापरीक्षण प्रतिवेदन अनुसार ११ करोड ८० लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको र ५ करोड ३६ लाख ८४ हजार रुपैयाँ असुल नै गर्नुपर्ने उल्लेख गरिएको छ ।

सिंह र अर्का १ जना वडाध्यक्षविरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रंजितकुमार यादवले जानकारी दिए ।

वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा वैशाख १४ गते दाबी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ । भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् ।

जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए सो उम्मेदवारी पनि रद्द हुन सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्