काठमाडौं, २९ असार– नीला आँखा भएका पाकिस्तानी ‘चायवाला’ त तपाईलाई याद नै होलान् । यी ‘चायवाला’ले सामाजिक सञ्चालमा पनि धेरै वाहवाही बटुलेका थिए । एकै फोटोका कारण रातारात चर्चित भएका उनलाई मोडलिङ सम्मको अफर पनि मिलेको थियो ।
तर अहिले आएर यी ‘चायवाला’बारे ठूलो खुलासा भएको छ । जसलाई मानिसहरुले ‘पाकिस्तानी चायवाला’ भनेर बोलाउँछन् उनी पाकिस्तानका नागरिक नै हैनन् । पाकिस्तानको नेशनल डेटाबेस एण्ड रजिस्ट्रेशन अथोरिटीले (नाड्रा)ले ‘पाकिस्तानी चायवाला’ भनेर चर्चित भएका अरशद खानलाई अफगानिस्तानको नागरिक भनेको छ ।
पाकिस्तानको टिभी च्यानल ‘जियो न्यूज’का अनुसार अरशद खानसँग यस्ता कुनै दस्तावेज छैनन्, जसबाट उनी पाकिस्तानी नागरिक भएको प्रमाणित होस् । जियो टिभीले अरशद खानको भनाइ लिन खोज्दा उनको टिमले अरशदको फेसबुक पेज हेर्न भन्यो । उनको फेसबुक पेजमा एक पोस्ट अपलोड गरिएको छ, जसमा लेखिएको थियो कि नाड्राले गलत तथ्य पेश गरेको छ । उक्त पोस्टमा अरशदको एक फोटो पनि छ, जसमा उनी नाड्रा मूख्यालयमा आफ्नो कम्प्युटराइज्ड राष्ट्रिय परिचय पत्र (सीएनआईसी) लिइरहेको देखिन्छन् ।
नाड्राका अनुसार सिलेब्रेटी बनेपछि अरशदले फर्जी दस्तावेजको आधारमा पाकिस्तानको राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिएका थिए । जो उनलाई यस वर्ष जुन महिनामा मिलेको थियो । त्यसपछि अरशदले पाकिस्तानी पासपोर्टका लागि पनि आवेदन दिएका थिए ।
पासपोर्ट कार्यालयमा अरशदका दस्तावेजको जाँच गरिँदा उनी पाकिस्तानी नभएको रहस्य बाहिर आएको हो । यद्यपि सेलिब्रेटी हुनुको फाइदा उठाएर अशरदले पाकिस्तानी राहदानी पनि पाइसकेका छन् ।
नाड्राका अधिकारीका अनुसार अरशद र उनको परिवार अफगानिस्तानको कन्धारका बासिन्दा हुन् । उनले पाकिस्तानी दस्तावेज प्राप्त गर्न आफूलाई पाकिस्तानको मूसा खेलको बासिन्दा बताएका थिए ।