कोरोना महामारीका कारण संकटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवद्र्धनका लागि मात्रै थप १९ करोड ६० लाख रुपैयाँ बराबरको बजेट व्यवस्था गर्न सिफारिस गरिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपालको पर्यटन प्रवद्र्धन, प्रचारप्रसार र नेपाल खुला छ भन्ने सन्देश प्रवाहका लागि थप बजेटको माग गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम ओलेको अध्यक्षतामा गठन भएको समिति मातहतको प्राविधिक समितिले सम्वद्ध सरोकारवालासँगको छलफलका आधारमा कठिन समयमा नै नेपालको प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउनुपर्ने सुझाव दिएको छ ।
प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार परम्परागत तवरले भन्दा पनि सिर्जनात्मक ढंगले प्रचार गर्नुपर्नेमा जोड दिइएको छ ।
सोही लक्ष्य हासिल गर्न आगामी सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पर्यटन शिखर सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा २० भन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिमण्डललाई सहभागी गराउने तयारी छ ।
त्यसमा नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशका पर्यटनमन्त्रीलाई आमन्त्रण गरिनेछ । दक्षिण एशियाली मुलुकका पर्यटनमन्त्री तथा पर्यटन क्षेत्रमा काम गरिरहेका विज्ञ तथा जानकारलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरिनेछ ।
नेपाललाई माया गर्ने अन्तर्राष्ट्रिय पर्वतारोही, पदयात्री तथा नेपालको पर्यटनका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मेलनमा सहभागी गराई, उनीहरुको सुझाव तथा सल्लाह लिन लागिएको संयोजक गिरीको भनाइ छ । सम्मेलनले विश्वव्यापी रूपमा नेपाल खुला छ, पर्यटनमैत्री छ, ‘आउनुस् नेपालको भ्रमण गर्नुस्’ भन्ने सन्देश विश्वव्यापी रूपमा प्रवाह गर्ने समितिले विश्वास लिएको छ ।
विश्वका प्रख्यात सेलीब्रेटीलाई आमन्त्रण गर्ने क्रम शुरू भएको छ । टर्कीका प्रख्यात सेलीब्रेटी कास्की पुगेका छन् । अन्य देशका कलाकार, खेलाडी तथा पर्वतारोहीलाई आमन्त्रण गरेर नेपालका बारेमा विश्वव्यापी रूपमा चर्चा परिचर्चाको केन्द्रमा पुर्याउने समितिले लक्ष्य तय गरेको छ ।
समितिले नेपालको हरेक पर्यटकीय क्षेत्रको जानकारी रहने गरी ‘टुरिज्म डिजिटल म्याप’ बनाउने भएको छ । ‘एक गाउँ एक पर्यटन क्षेत्र’को अभियानलाई पनि सोही डिजिटल नक्शामा समावेश गर्ने लक्ष्य छ । सो काम नेपाल पर्यटन बोर्डले गर्नेछ । नयाँ पर्यटकीय गन्तव्यदेखि पुराना गन्तव्य पनि त्यसमा जोडिनेछन् । पर्यटकले सो नक्शा हेर्ने वित्तिकै नेपालका पर्यटकीय क्षेत्रको बारेमा थाहा पाउनेछन् । सो कार्यका लागि ५० लाख रुपैयाँ बराबरको खर्च गर्ने तयारी गरिएको संयोजक गिरीको भनाइ छ ।
पर्यटनसँग जोडिएका संघसंस्थाको समन्वयमा केही साहसिक खेल तथा पदयात्रा प्रवद्र्धनको कार्यक्रम पनि अगाडि बढाइनेछ । सो कामका लागि २० लाख रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य छ । विदेशबाट आमन्त्रित पत्रकार, सञ्चारमाध्यम र यात्रासँग जोडिएर समाचार संकलन गरिरहेका, ब्लगर, लेखकलाई नेपाल घुमाउने र उनीहरूको लेख, अन्तर्वार्ता गर्ने गराउने कार्यक्रम तय गरिएको छ । त्यसका लागि १ करोड रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य राखिएको छ ।
सम्पदास्थलका अन्तर्राष्ट्रियस्तरको शौचालय, पर्यटक सूचना केन्द्र, विश्रामस्थल तथा अन्य जानकारी प्रदान गर्ने स्थलको निर्माण सञ्चालन, व्यवस्थापन गरिनेछ । सो कार्य स्थानीय तहले कार्यान्वयन गर्ने र प्रदेश सरकारले सहयोग गर्ने गरी तय गरिएको छ । मुख्य पर्यटकीय गन्तव्य, सहरको सौन्दर्यीकरण र मानकीकरण गर्ने काम पनि समितिको प्राथमिकतामा छ । २५ लाख रुपैयाँ खर्च गरेर दोहोरो अन्तक्र्रिया गर्न मिल्ने खालको पर्यटकमा समर्पित वेबसाइट, एप निर्माण तथा सञ्चालन गरिनेछ । त्यस्ता बेवसाइट र एपमा नेपालको पर्यटकीय क्षेत्रबारे जानकारी दिने छोटाछोटा श्रव्यदृश्य सामग्री विभिन्न अन्तर्राष्ट्रिय भाषामा उपलब्ध गराइनेछ । नेपाल आउन चाहने पर्यटकले त्यसैबाट आवश्यक जानकारी लिन सक्नेछ ।
आवश्यक जिज्ञासा र चासो राख्न सक्नेछ । सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने र आवश्यक प्रवद्र्धन गर्ने कार्यक्रम पनि समितिको प्राथमिकतामा रहेको छ । सात वटै प्रदेशले पर्यटन क्षेत्रका आउन चाहने नयाँ जनशक्तिको खोज, पहिचान, तालिम प्रदान गर्नका लागि आवश्यक व्यवसथा गरिएको छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिएका १० लाखमध्ये सात लाख कामदार बेरोजगार भएका छन् । उनीहरूलाई पुनः यस क्षेत्रमा फिर्ता ल्याउने र नयाँ जनशक्ति तयार पार्ने लक्ष्य राखिएको छ ।
पर्यटकीय क्षेत्रमध्ये प्रमुख १० स्थानमा निःशुल्क रुपमा उच्च गतिको वाइफाइ सेवा, डिजिटल माध्यमबाट सूचना उपलब्ध गराउने र सम्पदास्थलको बारेमा बुझाइनेछ । यस्तै, अन्तर्राष्ट्रियस्तरमा नेपालको बारेमा जानकारी गराउने पर्यटक विज्ञ, सूचनादाता तथा स्वयमसेवक परिचालन गर्ने गरी कार्यक्रम तय भएको संयोजक गिरीले जानकारी दिए । – रमेश लम्साल/रासस