
काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेंसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि ३ सदस्यीय समिति बनाइएको हो ।
उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन् । गृहमन्त्री खाँणले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरी छानबिन समिति बनाउन निर्देशन दिए ।
बुधवार मध्याह्न काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको यूपी–५८–टी–८१८१ नम्बरको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना१ज ४२१० नम्बरको सुमो ठोक्किँदा २ महिला, २ पुरुष र १ बालक गरी ५ जनाको मृत्यु भएको थियो ।