
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला देश तथा विदेशमा रहनुहुने तपाईं आम पाठकप्रति शीर झुकाउन चाहन्छौं । लोकान्तरप्रति तपाईंहरूले दर्शाएको माया हाम्रो उपस्थिति र निरन्तरताको प्रमुख कारण हो ।
आमपाठकसँगै हामीलाई सहयोग गर्नुहुने विभिन्न दाता र विज्ञापनदाता विशेष धन्यवादका पात्र हुनुहुन्छ, जसले कोरोना महामारी जस्तो प्रतिकूल समयमा समेत हामीलाई साथ दिनुभयो । तपाईंहरूको सहयोग नपाएको भए हामी दुर्घटनामा पर्न सक्थ्यौं । लेखक, स्तम्भकार र तमाम शुभचिन्तकप्रति हामी उत्तिकै आभारी छौं ।
नेपालको सबैभन्दा पुरानो राष्ट्रिय दैनिक गोर्खापत्र (पछि गोरखापत्र) जन्मेकै दिन अर्थात् वैशाख २४ (जुन दिनलाई नेपाल सरकारले केही वर्ष अघि राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय समेत गर्यो) को अवसर पारेर २०७३ वैशाख २४ गते लोकान्तर डट्कम पाठकसामु ल्याउँदा हामीले विश्वसनीय सामग्री पस्कने संकल्प गरेका थियौं । त्यसप्रति हामी इमान्दार छौं, रहिरहनेछौं । पाठकहरूको रचनात्मक प्रतिक्रिया र निरन्तरको खबरदारी हाम्रो लागि मार्गदर्शन हुनेछ ।
बितेको ६ वर्षको अवधिमा लोकान्तर डट्कमले ‘विश्वसनीय र खोजमूलक समाचार पोर्टल’को पृथक पहिचान बनाउन सफल भएको छ । नेपाली पत्रकारिता क्षेत्रमा खोजी समाचारको धार कमजोर बन्दै गएको भन्ने पाठक र सरोकारवालाको गुनासो बढेको बेला हामीले खोजी पत्रकारितालाई जीवित राख्न अथक प्रयत्न जारी राखेका छौं । खोज र तथ्यपूर्ण समाचारका लागि सूचनाको हक महत्त्वपूर्ण औजार बनेको छ ।
लोकान्तरमा खोजमूलक समाचार प्रकाशित भएपछि केही नीतिगत परिवर्तन भए भने अनियमितता गर्नेहरू कारवाहीको दायरामा आए । आगामी दिनमा हाम्रा कन्टेन्टमा अझै निखार ल्याउन प्रयत्न गर्नेछौं । लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापी मूल्य मान्यतासँग हामी कहिल्यै सम्झौता गर्ने छैनौं ।
मिडियाका सामग्री काठमाडौं केन्द्रित र अनलाइन सञ्चार माध्यम ब्लगकेन्द्रित भइरहँदा अनलाइन पत्रकारिताको भीडमा हाम्रो पहिचान भनेको खोजमूलक समाचार नै हुनेछ । राजनीतिक घटनाक्रमको विश्लेषण र तत्काल सम्प्रेषणमा पनि हाम्रो विशेष ध्यान जानेछ । हाम्रो अर्को सशक्त पक्ष भनेको विश्व घटनाको सरल भाषामा विश्लेषणमार्फत नेपाली पाठकलाई विश्व राजनीतिबारे सूचित गर्नु हो ।
आउँदै गरेका स्थानीय, प्रदेश र संघका निर्वाचन बारेका सामग्री स्थलगत रूपमै सबैभन्दा सशक्त ढंगले सम्प्रेषण गर्ने हाम्रो प्रयत्न रहनेछ । वैशाख ३० गते हुँदै गरेको स्थानीय तहको निर्वाचनसँग सम्बन्धित सामग्री सम्प्रेषणमा हामी सबैभन्दा सशक्त ढंगले होमिएका छौं, जुन हाम्रा नियमति पाठकले थाहा पाइसक्नुभएको छ ।
आदरणीय पाठक,
विश्वसनीय सामग्री छिटो र प्रभावकारी ढंगले सम्प्रेषण गर्नुसँगै अबको हाम्रो मुख्य ध्यान लोकान्तर डट्कमको सञ्जाललाई विस्तार गर्नेमा केन्द्रित हुनेछ ।
विभिन्न माध्यमबाट हामी लोकान्तरलाई शहर, गाउँ, बस्ती र तीन करोड नेपाली माझ पुर्याउने अभियानमा अहोरात्र खट्नेछौं । लोकान्तरलाई नेपाली जनजनको घरमा पुर्याउने र गाउँबस्तीका जनताका हरेक सरोकारलाई समाचारको रूपमा लोकान्तरमार्फत सम्प्रेषण गर्ने अबको हाम्रो उद्देश्यमा विगतमा जस्तै तपाईं पाठकहरूबाट रचनात्मक सहयोगको अपेक्षा गर्दछौं ।