नयाँदिल्ली, ३० असार– प्रसिद्ध धार्मिकस्थल अमरनाथको यात्रामा गएका तीर्थयात्री चढेको बसमाथि जम्मु–कश्मीरमा आतंकवादी आक्रमण हुँदा ७ जनाको मृत्यु भयो भने १९ जना घाइते भए । उक्त घटनाको जिम्मा आतंकवादी समूह लश्कर–ए–तैयबाले लिएको छ ।
बम विस्फोटमा संलग्न रहेको भन्दै भारतीय प्रहरीले जम्मु–कश्मीरबाट केही संदिग्धलाई पक्राउ गर्यो । त्यसमध्येका एक हुन् संदीप उर्फ आदिल । खासमा उनी एक हिन्दु हुन् । तर उनी पछि मुसलमान बने र आतंकवादी संगठनको सम्पर्कमा पुगे ।
प्रहरीले गरेको अनुसन्धानबाट पत्ता लागेको छ कि, उनी कश्मीरकी एक मुस्लिम महिलासँगको प्रेममा परे । जसकारण उनी मुस्लिम बने र आतंकवादीको जालमा फसे । ती महिलासँग उनी विवाह गर्न चाहन्थे । जसकारण मुस्लिम धर्म स्वीकार गर्न पनि उनले कुनै अप्ठेरो मानेनन् । र संदिपबाट आदिल बने ।

एक प्रहरी अधिकारीका अनुसार संदिपले प्रेम गर्ने युवतीका अभिभावकले उनीहरुको सम्बन्ध स्वीकार गर्न मानेनन् । त्यसको प्रमुख कारण थियो, संदिप दोस्रो धर्मको हुनु ।
त्यसपछि सन्दिपले एक स्थानीय मस्जिदमा आफ्नो धर्म बदलेर मुस्लिम बने । उनी कश्मीरमा वेल्डिङको काम गर्दथे । आम्दानी बढाउनका लागि उनले कश्मीरको अनन्तनाग र पुलवाको बीचमा गाडी चलाउने काम पनि सुरु गरे । तर पनि उनी दिनको ३०० रुपैयाँ मात्रै कमाउन सक्थे ।
त्यहीबीचमा उनको सम्पर्क आतंकवादी संगठन लश्कर–ए–तैयबाका केही प्रतिनिधि शकूरसँग भयो । शकूरले उनलाई ठूलो रकमको लोभ देखाए । त्यसपछि उनी एटीएम बुथ र बैंक लुटपाटमा शकूरका सहयोगी बने ।
त्यसपछि उनलाई उक्त समूह छाड्न मुस्किल भइसकेको थियो । किनकी त्यहाँबाट बाहिर आए उनी सिधै पक्राउ पर्न सक्थे । त्यसपछि उनलाई लश्करले सीमा क्षेत्रमा पठायो, हतियार चलाउने तालिम दिन । ४५ दिनसम्म उनलाई धार्मिक शिक्षा पनि दिइयो, जसबाट उनी अन्य युवाहरुलाई पनि कट्टर बनाउन सकुन् ।