जेठ ११, २०७९
स्थानीय तहमा फेरि पनि पहिलो राजनीतिक शक्ति बन्ने उद्घोषका साथ चुनावमा होमिएको एमाले करीब एकतिहाइ शक्ति गुमाएर दोस्रो दलमा सीमित भयो । अध्यक्षको लोकप्रियता र पार्टी प्रवेशको लहरको आधारमा जीत निकाल्ने एमाले न...
जनकपुरधाम | बैशाख २५, २०७९
जनकपुरधाम उपमहानगरपालिकामा पाँच वर्ष मेयर रहेका लालकिशोर साह नयाँ कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन् । दल परिवर्तन गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका साहलाई जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदको उम्मेदवार बनाइएको छ । विगत पाँच वर्षमा साहले जनकपुरधामको विकासका लागि के काम गरे र आगामी कार्यकालका लागि उनका के योजनाहरू छन् ? यसैको वरिपरि रहेर लोकान्तरकर्मीहरूविन्देश दहाल र उद्धव थापाले साहसँग कुराकानी गरेका छन् ।
विगत पाँच वर्षमा जनकपुरका लागि तपाईंले गर्नुभएका मुख्य पाँच कामहरू के के हुन् ?
म २०७४ सालमा जनकपुरधामको मेयर बन्नुअघि शहरका सडकमा घुम्ने स्थिति हुँदैनथ्यो । यस साढे चार वर्षको अवधिमा हामीले पाँचवटा मात्र नभई थुप्रै काम गरिसकेका छौं । उपमहानगरपालिकाको पहिलो बैठकबाटै शहरको नाम संशोधन गरेर हामीले जनकपुरधाम बनायौं । धार्मिक सांस्कृतिक शहरका रूपमा प्रवर्धन गर्नका लागि हामीले यो नाम राखेका हौं । त्यसैसँग जोडिएर हामीले जनकपुरधामलाई केसरिया नगर पनि बनाएका छौं । त्यसैअनुसार शहरको रंग पनि केसरिया छ र कर्मचारीहरूको ड्रेस कोड पनि त्यही किसिमको छ । धामअनुसारको आचरण हुनुपर्छ भनेर हामीले मदिरा, पानपराग, बिँडी चुरोट तथा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाएका छौं ।
जनकपुरमा बाटोको अवस्था विकराल थियो । सडकछेउका नालाहरू धेरै गनाउँथे । एडीबीको परियोजना अन्तर्गत सडक बनाउने काम हुनुपर्ने थियो तर परियोजना नै गइसकेको थियो । तर मैले उपमहानगरपालिकाका तर्फबाट हारगुहार गरेर सडक सुधारमा काम गर्ने मौका हामीलाई दिनुस् भनें । त्यसपछि १०० करोड रुपैयाँको प्रोजेक्ट हामीले एक वर्षभित्र ठूलो चुनौती झेल्दै पूरा गर्यौं । बाटो फराकिलो गरेर भूमिगत नाला (अन्डरग्राउन्ड ड्रेनेज) हामीले बनायौं । त्यस्तै सडक पिच, फूटपाथ निर्माण र सडकछेउ वृक्षारोपणका काम पनि गर्यौं । यसक्रममा दिनरात मेहनत गरी १६ घण्टासम्म काम गरेको छु ।
तपाईंले बाटोको काम गरें भन्नुभयो । तर यस्तो धार्मिक शहरमा हामीले फोहर देख्यौं । तपाईंले सरसफाइको काम किन गर्न सक्नुभएन ?
साढे चार वर्षको अवधिमा यहाँ कल्पनातीत परिवर्तन भएको छ । अहिले तपाईं राति १२ बजे रेलवे स्टेसनबाट एयरपोर्टसम्म जानुभयो भने झिलमिल बत्ती बलेको देख्न पाउनुहुन्छ । सरसफाइको कुरा गर्दा, हामीसँग सफाइ कर्मचारीको पर्याप्त संख्या छैन । २०४९ सालमा म जनकपुरको उपमेयर थिएँ । त्यसबेलाको सफाइ कर्मचारीको दरबन्दी अहिलेसम्म पनि कायम छ । त्यतिखेर हामीले दैनिक मजदूर राखेका थियौं । सफाइको काम दिहाडी मजदूरले नै गर्ने हो । त्यो हामीलाई राख्न दिइएन । उल्टो, यहाँका प्रमुख प्रशासकीय अधिकृतले भएका कर्मचारीलाई पनि कामबाट निकाल्ने तोक आदेश दिनुभयो ।
अहिले हामीकहाँ ८५ जना सफाइ कर्मचारी हुनुहुन्छ । त्यति थोरै कर्मचारीलाई पनि हामीले राम्रोसँग परिचालित गरेका छौं । तपाईं बिहान ४ बजे उठेर शहर घुम्नुभयो भने सबै फोहर उठिसकेको पाउनुहुन्छ । पहिला बाटोमा फोहर फालिन्थ्यो, नालाहरूको हिलो देखिन्थ्यो, दुर्गन्धित हुन्थ्यो, चैत वैशाखमा धूलैधूलो हुन्थ्यो । अहिले यहाँ दमका रोगीहरूको संख्या निकै घटेको छ । यति धेरै काम भएको छ । उपमहानगरपालिकाका गाउँगाउँमा घुमेर हेर्नुस् । त्यहाँ पनि हामीले अन्डरग्राउन्ड ड्रेनेज बनाएका छौं । खुला नालामुक्त अभियान मैले चलाएको छु । विपक्षीहरूले आलोचना गर्ने कुनै इस्यु पाएका छैनन् । मेला सकिएपछि फोहर डम्प गरेको ठाउँमा गएर फोटो खिचिदिने अनि त्यसैलाई देखाएर आलोचना गर्ने गरेका छन् । वडाध्यक्ष भइसकेका मान्छे पनि जनकपुरलाई नरकपुर भन्छन् । तर जनकपुर स्वर्गपुर भइसकेको छ ।
ल्यान्डफिल साइट बनाएर हामीले फोहर व्यवस्थापन गर्न पाएनौं । फूलगामा र मनिहारीमा साइट छुट्ट्याएर काम गर्ने बेलामा यही क्षेत्रबाट जितेका ठूला पार्टीका नेताले त्यसलाई रोके । त्यस्तो नकारात्मकताका कारण हामीले काम गर्न पाएनौं । तर हामीसँग भएको सीमित स्रोतसाधन उपयोग गरेर हामीले सरसफाइमा ठूलो फड्को मारेका छौं ।
पाँच वर्षमा धेरै काम गरिसकें भन्नुभयो । अब अर्कोले काम गरोस् भनेर छोडिदिएको भए हुन्थ्यो होला । किन फेरि मेयर पदमा दाबेदारी गर्नुभयो ?
अहिले राजनीतिलाई व्यवसाय बनाउन खोज्नेहरू जुर्मुराएका छन् । म सेवाभावका साथ राजनीति गरिरहेको छु । काममा खटिरहन मलाई गाह्रो लाग्दैन । १२ घन्टाभन्दा कमको मेरो रुटिन हुँदै हुँदैन । मैले अहिलेसम्म गरेको कामलाई व्यवस्थित र संरक्षित गर्नुपर्नेछ । शहरको कलर कोड व्यवस्थापन गर्नुपर्नेछ ।
भएको कामलाई कसरी निरन्तरता दिने अनि अधुरा कामहरू कसरी पूरा गर्ने हामीलाई थाहा छ । पोखरीहरूको व्यवस्थापनमा काम गर्न बाँकी छ । गंगासागरमा १०० करोडको एउटा प्रोजेक्ट छ । त्यसको पार्ट पार्टमा काम हुँदैछ । वडा नं ५ लाई हामीले स्मार्ट वार्ड बनाएका छौं । भानुचोकमा एउटा कमर्सियल बिल्डिङ बन्दैछ । गुठीसँग सहमति गरेर २९ वटा पोखरी र ऐलानी पर्ती जग्गाहरू हामीले आफ्नो जिम्माका लिएका छौं ।
त्यस्तै दीर्घकालीन योजनाहरू छन् । स्मार्ट सिटीको योजना छ । हजार बिघा जग्गामा त्यो बन्दैछ । त्यसमा धेरै काम अघि बढिसकेको छ । हाम्रो एयरपोर्टलाई रिजनल हब बनाउने योजना पनि हामीसँग छ । हामीसँग ११४ वर्ष पुरानो संस्कृत विद्यालय छ । त्यसलाई अन्तर्राष्ट्रिय स्तरको संस्कृत विश्वविद्यालय बनाउने हाम्रो परिकल्पना छ । म निर्वाचित भएर आएमा आगामी पाँच वर्षमा म त्यसको कार्यान्वयन गर्नेछु ।
मैले गरेको कामलाई पार्टीलाई मूल्यांकन गरेर नै मलाई टिकट दिएको हो । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा अधुरा रहेका कामहरू पूरा गर्नुपर्छ भनेर मलाई उपेन्द्र यादवजीले भन्नुभएको थियो । जसपा नेपालको एक साधारण सिपाहीको हैसियतले मलाई दिइएको जिम्मेवारी, मैले शुरू गरेका कामको पूर्णता र दीर्घकालीन योजनाको कार्यान्वयनका लागि पनि मेरो उम्मेदवारी परेको हो ।
नेताहरूले नभनेको भए व्यक्तिगत रूपमा तपाईंलाई मेयरको उम्मेदवार बन्ने रुचि थिएन ?
मेयरमा मैले दाबी गरेको हैन । पार्टीले मलाई यो जिम्मेवारी दिएको हो । अनि मलाई पनि लाग्यो, मैले पाएको यो अवसरको सदुपयोग गर्नुपर्छ ।
यहाँ त गठबन्धनको बागी उम्मेदवार पनि उठ्नुभएको रहेछ । तपाईंको जीतलाई बागीले अप्ठ्यारोमा पारेको हो ?
राजनीतिलाई व्यवसाय बनाएर चलखेल गर्नेहरूलाई पनि लोकतन्त्रमा उम्मेदवार बन्ने छुट हुन्छ । उनीहरू पनि यहाँ मेयर लड्न आएका छन् । हाम्रो जीत त सुनिश्चित छ । पहिला जति मतान्तरका साथ हामीले जितेका थियौं त्यसभन्दा बढी मत ल्याएर हामी जित्दैछौं । यहाँ कसैले पनि मेरो विरुद्ध बोल्ने ठाउँ नै छैन । विकास भएन, बाटो भएन, विद्यालय भएन, शिक्षा र स्वास्थ्यमा सुधार भएन भन्ने ठाउँ छैन । हामीले २५ वटै वडा कार्यालयको आफ्नै भवन बनाएका छौं । प्रत्येक वडामा स्वास्थ्य चौकी हामीले बनाइसकेका छौं । संस्कृत विद्यालयमा विद्यार्थीको संख्या हामीले बढाउन सफल भएका छौं ।
यस गठबन्धनमा तपाईंलाई कांग्रेसको साथ छ कि छैन ?
पक्कै छ । गठबन्धनका सबै साझेदारले आफ्ना कार्यकर्ताहरू परिचालन गरेका छन् ।
एउटा मेयरको चुनाव लड्दा कति खर्च हुँदो रहेछ ?
खर्च गर्नेलाई यो प्रश्न सोध्नुस् । ब्ल्याकलिस्टमा परेकाहरू मेयर पद जितेर यसलाई आर्थिक उपार्जनको माध्यम बनाउन खोजिरहेका छन् । त्यसलाई जनताले जवाफ दिनेछ । अघिल्लोपटक उठ्दा पनि मैले खर्च गरिनँ, यसपटक पनि मैले खर्च गर्नुपर्ने छैन ।
जनकपुरमा अलि खर्च गर्नसक्ने उम्मेदवार तपाईं नै हो त्यसैले तपाईंलाई टिकट दिइएको हो भन्दा रहेछन् त ।
हाम्रा पार्टीका नेता उपेन्द्र यादव चुनावमा खर्च गर्ने कुराको विरोधी हुनुहुन्छ । विरोधीहरूले बेकारमा हल्ला फैलाएका हुन् । जनकपुरको विकासका लागि मैले धेरै काम गरेको छु । यहाँको आर्थिक उन्नतिलाई गति दिएको छु । मैले पैसा खर्च गर्नै पर्दैन । यहाँका जनताले सबै कुरा हेरिरहेका नै छन् । जनता विकासको पक्षमा छन् । मैले बुझेको त्यत्ति हो ।
स्थानीय तहमा फेरि पनि पहिलो राजनीतिक शक्ति बन्ने उद्घोषका साथ चुनावमा होमिएको एमाले करीब एकतिहाइ शक्ति गुमाएर दोस्रो दलमा सीमित भयो । अध्यक्षको लोकप्रियता र पार्टी प्रवेशको लहरको आधारमा जीत निकाल्ने एमाले न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विराटनगर महानगरपालिकामा आफ्नो उम्मेदवार जिताउने भरमग्दुर प्रयासमा छन् । नागेश कोइरालाई उम्मेदवार बनाउन सम्पूर्ण शक्ति लगाएका कोइरालाई विराटनगरमा जीत निकाल्नु पार्टीभित्रै...
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
राजनीतिक र औद्योगिक शहरका रूपमा चिनिएको १ नम्बर प्रदेशको राजधानी विराटनगरले २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट लामो राजनीतिक पृष्ठभूमि बोकेको परिवारका नागेश कोइरालालाई मेयर बनाएको छ । विराटनगरको बागडोर ...
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...