०१ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

बजेट कार्यतालिका प्रभावित, मेलम्चीको पानी फेरि रोकिने

बैशाख २६, २०७९
बजेट कार्यतालिका प्रभावित, मेलम्चीको पानी फेरि रोकिने

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले जेठ ३ गते दिउँसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । बजेट जेठ १५ गतेभित्र ल्याइसक्नुपर्ने हुन्छ । बजेटअघि संसदमा राष्ट्रपतिले सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने परम्परा छ । तर चुनावका कारण बजेट कार्यतालिका प्रभावित बनेको छ । कार्यतालिकाअनुसार वैशाख २० गते भित्र प्रिबजेट, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्का दुवै सदनमा पेश हुनुपथ्र्यो ।

३ गतेको  अधिवेशनमा अर्थमन्त्री जनार्दन शर्माले बजेटको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेश गर्ने र सभामा छलफल हुने बताइएको छ । यद्यपि, तोकिएको समय सीमा भन्दा ढिला भइसकेकाले बजेटको कार्यतालिका प्रभावित बन्न पुगेको छ ।  
०००००
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदातालाई अपिल गरी विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार सङ्गठनलाई चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ ।

आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।
००००
प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ । आइतबार विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो । काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्न–नगराउन भनेको छ ।
००००
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूले लिने बताएका छन् । कसैको छोरीभन्दा आफ्नो पार्टीका उम्मेदवार शक्तिशाली भएको उनले दाबी गरे । 
चितवनको भरतपुरमा आइतवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले भरतपुरको विकासका लागि बजेटको कमी हुन नदिने बताएका हुन् ।  बजेट आउन दिन्न भनेर कांग्रेसका नेताहरूले दिएको अभिव्यक्तिप्रति ओलीले आपत्ति जनाए । ‘कति दिन आउन दिँदैनन् बजेट, कति दिन चल्छ यो गठबन्धन ?,’ ओलीले भने ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि ६७ बुँदे अपिल सार्वजनिक गरेको छ । आइतवार एमाले पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले अपिल सार्वजनिक गरेका हुन् । अपिलमा अन्य गठबन्धनमा रहेका ५ राजनीतिक दलप्रति आक्रोश पोखेका छन् । 

अपिलमा उनले आगामी ५ वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञा पनि गरेका छन् ।
००००
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउनु कांग्रेसका लागि आवश्यक रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली गणतन्त्रको खिलापमा रहेकाले पनि गठबन्धन जोगाउनु परेको उनको भनाइ छ । 
कास्कीको पोखरामा आयोजित चुनावी सभालाई आइतवार सम्बोधन गर्दै देउवाले गठबन्धन जोगाउनका लागि तालमेल भएको स्थानमा इमान्दारीपूर्वक कांग्रेसले गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्ने बताएका हुन् ।
००००
नेकपा  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा अहिलेको गठबन्धन असफल भए देशको राजनीति दुर्घटनामा पर्छ भने पनि जनतालाई नधम्क्याएको बताएका छन् । 
कास्कीको पोखरामा आइतवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनता धम्क्याएको भनेर गलत अर्थ लगाइएको बताएका हुन् ।
००००
मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा शुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो ।

 हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

salt training

कमेन्ट गर्नुहोस्