
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द विप्लवलाई पुरानो घर फर्कन आग्रह गरेका छन् ।
निर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावकै बाटोमा फर्किएकामा प्रसन्नता व्यक्त गर्दै पुनले पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।
मूलधारको राजनीतिबाट अलग रहेर बाटो बिराएका विप्लव १० वर्षअघि सही बाटोमा फर्किएको उनको भनाइ थियो ।
‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनुभएको थियो । अहिले सही बाटोमा फर्कनुभएको छ’, गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मुलधारमा, मुल बाटोमा स्वागत छ ।’
आफूहरू गणतन्त्रसहितका परिवर्तन संस्थागत गर्न लागिपरेका बेला प्रतिक्रान्तिकारीको आरोप लगाउँदै विप्लवले पार्टी छाडेको स्मरण गर्दै पुनले उनको ‘एकीकृत क्रान्ति’ को लाइन विसर्जित भएको टिप्पणी गरे । गलत बाटो हिँडेकैले विप्लव समूहमा फुट आएको तर्क पुनको थियो ।
कतै काँग्रेस, कतै एमाले र कतै अरु दलको चुनाव चिन्ह लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको मुलधारमा समाहित हुनु प्राकृतिक र हितकर हुने पुनले बताए ।
‘कतै एमाले, कतै काँग्रेस, कतै अरु दलको चिन्ह बोकेर हिंड्नुभएको छ’, उनले भने, ‘अरूका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मुलधारमा आउनुहोस्, यसमा नलगाए हुन्छ ।’ पार्टीमा फर्किए विप्लव सहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताए ।
रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले काँग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेको छ ।
फरक प्रसंगमा पुनले देशैभर सत्ता गठबन्धनबीच तालमेल भए पनि काँग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका कारण रोल्पामा तालमेल गर्न नसकिएको उल्लेख गरे ।
स्थानीय काँग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावनाविपरीत गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाए । काँग्रेसले रोल्पामा एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ ।
सभापति शेरबहादुर देउवा र आफ्नै समूहका नेता रामचन्द्र पौडेलले तालमेलका आधारमा अघि बढ्न दिएको निर्देशन अस्वीकार गरेर रोल्पा काँग्रेसका नेताहरुले ऐतिहासिक गल्ती गरेको टिप्पणी गरे ।
रोल्पाका काँग्रेसलाई नक्कली र फुइँफुट्टाको संज्ञा दिँदै उनले ढिलो चाँडो जिल्लाबाट काँग्रेस बढारिने दाबी गरे । पुनले एमालेको वैचारिक र राजनीतिक उत्तराधिकारी नेकपा एकीकृत समाजवादी र नेता माधव नेपाल भएको बताए ।