काठमाडौँ, ३१ असार - काठमाडौंवासीले पिउने करिब ६६ प्रतिशत पानीमा कोलिफर्म (दिसामा हुने जीवाणु) को जीवाणु भेटिएको छ । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।
दिसा मिसिएको पानीमा कोलिफर्मको जीवाणु हुन्छ । विभिन्न सहयोगी संस्थाहरूसित मिलेर कार्यालयले पानी शुद्धीकरण सम्बन्धी जाँच गरेको थियो । सहरी वातावरण व्यवस्थापन समाजको सहयोगमा जनस्वास्थ्य कार्यालयले १३ सय घरधुरीमा गरेको अध्ययनमा करिब ६६ प्रतिशत पानीमा कोलिफर्मको जीवाणु भेटिएको थियो । त्यस्तै ललितपुरमा ५० प्रतिशत तथा भक्तपुरको ७३ प्रतिशत पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएको थियो ।
सहरी वातावरण व्यवस्थापन समाजका सदस्य बुद्ध बज्राचार्यका अनुसार पाटनको मंगलबजार, सुन्धारा, थैव, काठमाडौंमा टंकेश्वरी, मरु, पाटनका भित्री क्षेत्र, सुकम्बासी एरिया, मनोहरा, पाथीभरा क्षेत्रमा पानी जाँच गरेको थियो । त्यस क्षेत्रका इनार, धारा, ढुंगेधारा, ट्यांकर, जारको पानीलगायतमा कोलिफर्मको जीवाणु भेटिएको थियो, राजधानी दैनिकमा खबर छ ।