![अधुरा काम पूरा गर्न मैदानमा आएँ, फराकिलो मतान्तरले जित्दैछु : चिरिबाबु महर्जन [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Chiribabu_maharjan_2_nLcL9MQ7bb.png)
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वाचनमा एमाले उम्मेदवारलाई ३२३ मतान्तरले पराजित गरेका महर्जन पुरानै प्रतिस्पर्धीसँग चुनावमा भिडेका छन् ।
केन्द्रीयस्तरबाटै गठबन्धन भएको ललितपुरमा यसपटक पनि फराकिलो मतान्तरले आफू दोहोरिने दाबी उनले गरे । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका मेयरका प्रत्यासी महर्जनसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
ललितपुर महानगरको मेयरका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनाव प्रचारप्रसार अन्तिम चरणमा पुग्दै गर्दा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
– एकदमै राम्रो छ । अहिलेको अवस्था हेर्दा बाकसमा भोट खस्न मात्रै बाँकी छ । मैले जितिसकेको छु । निर्वाचनको अन्तिम परिणाम घोषणा हुन मात्रै बाँकी छ । हुन त राजनीतिमा रात रहे अग्राख पलाउँछ भनिन्छ । राजनीतिमा ‘एभ्रीथिक्स इज पोसिबल’ भनिन्छ । त्यो कुरालाई मध्यजनर राखेर बढी उत्तेजित भएका छैनौं ।
२९ वटै वडामा घरदैलो कार्यक्रम आज सिध्यायौं । चक्रपथभन्दा बाहिरका वडाहरू जो उपमहानगरपालिका हुँदा महानगरपालिका बनाउन मर्ज गरिएका थिए, त्यसमा मैले राम्रो आश गरेको थिइनँ । चक्रपथभित्र चाहिँ फेमस भइसकेको थिएँ तर अहिले चाहिँ चक्रपथ बाहिरका वडामा पनि खसेको मतमध्ये ६० प्रतिशत मेरो पक्षमा आउँछ भनिरहेका छन् ।
ती ठाउँमा हामीले गरेको कामले पनि त्यो आधार बनेको छ । चक्रपथभित्र मैले लिड गर्छु नै, चक्रपथ बाहिरका वडामा पनि पहिलेजस्तो कमजोर छैन ।
तपाईंले १ कार्यकाल पूरा गर्नुभयो । मतदाताले दोहोर्याएर तपाईंलाई नै मत दिनुपर्ने आधार के हो ?
– एक त मेरो अनुभव । ५ वर्ष काम गर्दैगर्दा कुनै पनि मतदाताले, सञ्चारकर्मीले र अरु कसैले पनि ‘चिरिबाबु इज अ ब्याड ब्वाइ’ भनेर आरोप लगाउन सकेनन् । म पारदर्शितामा विश्वास गर्ने मान्छे । ५ वर्षको दौरानमा देखिने गरी धेरै काम गरेका छौं ।
हामीले सानो ठूलो गरेर ७ हजार ५०० परियोजना सम्पन्न गरेका रहेछौं । हामी पहिले जाँदा प्रोजेक्ट बैंक खाली थियो । अहिले प्रशस्त प्रोजेक्ट छन् । अहिले कुनै दुईतिहाइ, कुनै आधा, कुनै एकचौथाइ काम सकिएका प्रोजेक्ट छन् । नगरवासीहरू पनि मसँग असन्तुष्ट छैनन्, सबै खुशी छन् ।
कतिपय मतदाता असन्तुष्ट भए पनि मसँग भन्न नआएका हुन सक्छन् । अहिलेको समयमा सोसल मिडियाबाट पनि आफ्नो कुरा भन्न सकिन्छ । कम्प्लेन नआएको होइन, त्यो निश्चित वर्गको मात्रै छ ।
५ वर्षको दौरान हामीले जनमुखी काम गर्यौं । कोभिड १९ को बेलामा ७५३ स्थानीय तहमध्ये ‘वीआर द वेस्ट पर्फर्मर’ । यो कुरा विश्व स्वास्थ्य संगठनलाई पनि राम्रो जानकारी रहेछ । डब्ल्यूएचओको महानिर्देशक नेपाल आएका बेला मसँग करीब २ घण्टा समय बिताउनुभयो । उहाँलाई सबै कुरा थाहा रहेछ । हाम्रो तारिफ गर्नुभयो ।
तपाईंको प्रतिस्पर्धी एमालेको उम्मेदवार अघिल्लो चुनावमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँले यसपटक चिरिबाबुलाई सजिलै जित्नसक्छु भन्नुभएको छ नि ?
– उम्मेदवारले त जित्छु भन्नैपर्छ नि ! होइन र ? मेरा साथीहरूले पनि यसपटक चिरिबाबुले हरिकृष्ण ब्यञ्जनकारलाई १०–१५ हजार भोटले हराउँछ भनिरहेका छन् । यसको पछाडि कुनै पुष्टि त छैन तर अघिल्लो पटक ३२६ मतले जितेको हो । अहिले त्यसको दशौं गुणा बढीले मैले जित्छु । अन्तिम नतिजा आउने बेलामा मैले अहिले भनेको कुरा जाँच गर्न सक्नुहुन्छ ।
यसको आधार भनेको ५ वर्षको अवधिमा धेरै राम्रो काम गरेका छौं । यो अवधिमा मलाई कसैले आरोप लगाउन सकेन । हामीले गरेको काम जनताले राम्ररी थाहा पाएका छन् । सम्पदा क्षेत्रमा कायापलट हुने गरी काम गरेका छौं तर भक्तपुर जत्तिको राम्रो चाहिँ छैनौं । आफैंले पैसा संकलन गरेर भीमसेन मन्दिर बनायौं । प्रधानमन्त्रीले उद्घाटन गर्दा उहाँ छक्क पर्नुभयो ।
तपाईंलाई गठबन्धनका दलहरूले कत्तिको सहयोग गरिरहेका छन् ?
– गठबन्धनका दलहरूले सहयोग गर्नुभएको छ । सकिन्छ भने माथिबाटै गठबन्धन गरौं, सकिएन भने वडास्तरमा स्वस्थ प्रतिस्पर्धा गरौं भनिरहँदा मेरै वडामा गठबन्धन भएन । कांग्रेस र कलमको पनि यहाँ उम्मेदवार छ । कमल चिह्न लिएर चुनाव लड्ने व्यक्तिको मेयरमा आफ्नो उम्मेदवार त छैन । मलाई नै सहयोग गर्नुहुन्छ, गठबन्धनको मलाई सहयोग छ ।

फेरि मेयर निर्वाचित हुनुभयो भने के–के काम गर्नुहुन्छ ? महानगरको स्वरूप फेर्ने योजना के–के छन् ?
– अहिले शुरू भएको तर पूरा हुन बाँकी रहेका योजनालाई पहिलो प्राथमिकता दिन्छौं । जस्तो एसियाली विकास बैंकसँग ५४ करोड रुपैयाँ अनुदान लिएर लगनखेलदेखि पाटन मंगलबजार दरबार क्षेत्र, कुम्भेश्वर हुँदै बागमती पुलसम्म ट्रंकलाइन प्रोजेक्ट बनाउने काम शुरू गरेका छौं । त्यसको ४० प्रतिशत सम्पन्न भएको छ । बाँकी काम पूरा गर्नुपर्नेछ । पाटन दरबार क्षेत्रमा ठूलो पानी पर्यो भने त्यहाँ स्वीमिङ पुल बन्छ । पाटन दरबार क्षेत्रमा रहेको ढुंगेधारा छैठौं शताब्दीमा बनेको हो । त्यहाँ पूरै पानी भरिएको हुन्छ । अब त्यो ट्रंकलाइन प्रोजेक्ट बनिसक्दा यी सबै समस्या समाधान हुन्छन् ।
लगनखेलमा राजदल गणसँग ३० रोपनी जग्गा फिर्ता लिएको छु । त्यो भनेको ३ वटा पोखरी फिर्ता लिएको हो । त्यसबाहेक सप्तपातल पोखरीको १५ रोपनीसहित ४५ रोपनी जग्गामा ‘ट्रान्सप्यारेन्ट ग्रिन फेन्स’ बनाउने क्रममा छौं । जावलाखेलको फूटबल ग्राउन्डमा ‘ट्रान्सप्यारेन्ट ग्रिन फेन्स’ बनाएका छौं । राजदल गणसँग फिर्ता लिएको जग्गामा आगामी २ वर्षमा कमलको फूल फुलाउँछौं भनेका छौं ।
८१ हजार घरमा जीपीएस सिस्टममा ल्याउने गरी ब्लक नम्बर राख्ने काम ८० प्रतिशत सम्पन्न भएको छ । प्रोजेक्ट बैंकमा प्रशस्त योजनाहरू तयार भएर बसेका छन् ।