युरोपेली संघ (ईयू) ले युक्रेन सरकारलाई दैनिक कामकाज चलाउनका लागि १५ अर्ब यूरो दिन विचार गरिरहेको छ ।
तीन महिनाका लागि दिइने यो रकम ऋण काढेर उपलब्ध गराइने पोलिटिको पत्रिकाले सोमवार खबर दिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले केही दिनअघि अन्तर्राष्ट्रिय मुद्रा कोषलाई कर्मचारीको तलब, निवृत्तिभरण र अन्य सरकारी खर्चका लागि प्रत्येक महिना ७ अर्ब डलर आवश्यक रहेको बताएका थिए । आगामी तीन महिनाका लागि अमेरिकाले त्यसको एक तिहाइ रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । बाँकी रकम ईयूले दिनेछ ।
ईयूले दिने रकम अर्को सातासम्म टुंगो लगाइने अपेक्षा छ । तर अस्ट्रिया, जर्मनी र ग्रीसले वैकल्पिक उपायको माग गरेको पोलिटिको लेख्छ । जापान, नर्वे र बेलायत जस्ता गैर ईयू मुलुकबाट पनि सहयोग हुने अपेक्षा छ ।
ईयूका परराष्ट्रनीति प्रमुख जोसेप बोरेलले युक्रेनको पुनर्निर्माणका लागि अर्को विकल्प प्रस्ताव गरेका छन् । ईयूले लगाएको प्रतिबन्धका कारण रोक्का गरिएको रुसको विदेशी मुद्रा सञ्चिति उपयोग गर्ने उनको सुझाव छ ।