
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आवको नौ महिनामा कुल वस्तु निर्यात १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।