
कतारले नेपाललाई अक्सिजन ट्यांकर प्रदान गरेको छ ।
महामारीका बेला अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको कतार सरकारले जनाएको छ । कोरोना महामारीका बेला नेपालले अक्सिजनको अभाव व्यहोर्नु परेको थियो ।
कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई सो ट्यांकर हस्तान्तरण गरे ।
अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात् २ करोड ४६ लाख नेपाली रूपैयाँ बराबरको भएको कतारले जनाएको छ ।

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरीद गरी सो ट्यांकर नेपाल पठाएको हो । ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै राजदूत अल-हैलले कतार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए । उनले कतार सरकार कोरोना महामारीसँग जुध्न सदैव नेपाल सरकारको साथमा रहेको पनि बताए ।
ट्यांकर हस्तान्तरणको कागजात बुझ्दै स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे ।
अक्सिजन ट्यांकर मकवानपुरको हेटौंडास्थित हेटौंडा हस्पतालमा जडान गरेर अक्सिजन उत्पादन पनि शुरू भइसकेको सचिव पोखरेलले जानकारी दिए ।
नेपालका लागि सहयोग स्वरूप अक्सिजन ट्यांकर पठाउने क्रममा कतार फण्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा विन जासिम अलकुवरीले संस्थाले यसअघि पनि विभिन्नखाले स्वास्थ्य सामग्री, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको बताए ।