
नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेलगायत यस क्षेत्रका विद्वान्ले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा सचिव न्यौपानेले विज्ञानसम्म गणनालाई संस्थागत गर्ने ऋषि परम्परालाई पुनर्जागरण गरिनुपर्ने बताए ।
भित्तेपात्रोमा तिथिमिति, चाडपर्व, बिदालगायत विषयमा फरक परेर समाजमा भ्रम सिर्जना हुन थालेकाले यस क्षेत्रको नियमन गर्न सरकारले समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो ।
पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो र भित्तेपात्रोमात्र प्रयोग गर्न पनि उनले आम मानिसमा आह्वान गरे । यससम्बन्धी जागरण फैल्याउनुपर्नेमा मन्त्रालयको जोड छ । समितिको स्वीकृति नलिएको पात्रो र भित्तेपात्रो जफत गरी त्यो सूचना सार्वजनिक गर्न पनि मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।
अर्को वर्षदेखि राष्ट्रिय–पञ्चाङ्ग फागुनमै प्रकाशन गर्न, गोजी पात्रो, भित्तेपात्रो पनि प्रकाशन गर्न, वर्षमा एकपटक पण्डित एवं ज्योतिषीको सम्मेलन गर्न पनि सचिव न्यौपानेले समितिलाई निर्देशन दिए ।
धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले पञ्चाङ्ग ब्रह्मवाक्य भएकाले यसको अभावमा राज्य अन्धकार हुने बताए । सबै कुराको निर्देश पञ्चाङ्गले गर्ने भएकाले यसको उपयोगिताका विषयमा सबै जानकार हुनुपर्ने उनको भनाइ थियो ।
पञ्चाङ्गमा राखिएका ग्रहगतिलगायत विषय आकाशीय ग्रहसँग मिलेको छ कि छैन भनी अध्ययन अनुसन्धानको व्यवस्था गर्न धर्मशास्त्रविद् गौतमले सरकारसँग माग गरे ।