२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

स्थानीय तह निर्वाचन आज, मतदानबारे यस्ता छन् आयोगका निर्देशन

बैशाख ३०, २०७९
स्थानीय तह निर्वाचन आज, मतदानबारे यस्ता छन् आयोगका निर्देशन

संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तह निर्वाचन हुन लागेको छ । शुक्रबार देशभर एकसाथ स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पुरा भएको र मतदान कार्य बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने जनाएको छ । २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनको ५ वर्षे कार्यकाल सकिएपछि आयोगले संविधानअनुसार अर्को ५ वर्षे कार्यकालका लागि चुनाव गर्न लागेको हो । 

आयोगका अनुसार निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् । 

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरू आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
००००
शुक्रबार हुुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत प्रत्येक स्थानीय तहको प्रत्येक वडाबाट निर्वाचित गर्नु पर्ने दुई जना वडा सदस्य पदमा मतदान गर्ने तरिकाबारे निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतगणना गर्ने सम्बन्धमा समेत द्विविधा भएको गुनासो प्राप्त भएपछि आयोगले स्पष्ट पारेको हो ।  प्रत्येक स्थानीय तहको वडा सदस्यहरु मध्ये महिला वडा सदस्य र दलित महिला वडा सदस्य बाहेकका अन्य वडा सदस्य पदमा दुई जना उम्मेदवार निर्वाचित हुने आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह सदस्य निर्वाचनको लागि व्यवस्था भएको मतपत्रमा दुई जना निर्वाचित गर्नुपर्ने वडा सदस्यको लागि छैठौ कोलममा एक र सातौं कोलममा दुई निर्वाचन चिन्हको व्यवस्था भएकोले सो दुवै कोलममा निर्वाचन चिन्ह भएका मध्ये आफूले चाहेका दुई जना उम्मेदवारहरुको निर्वाचन चिन्हमा मत सङ्केत गर्न सकिने जानकारी दिए । 

यसरी मतदान गर्दा एउटै कोलमको दुई वटा चिन्हमा वा फरक फरक कोलमको एक एक वटा चिन्हमा एकएक मत सङ्केत गर्न सकिने उनको भनाइ छ ।  यस्तै छैठौ र सातौ कोलमको मतपत्र एउटै पदको मतपत्र भएको र सो मतपत्रबाट दुई जना उम्मेदवार मात्र निर्वाचित हुने भएकोले छैठौ र सातौं कोलममा भएका चिन्ह मध्ये कुनै दुई भन्दा बढी निर्वाचन चिन्हमा मत सङ्केत गरिएमा सो पदको पूरै मत बदर हुने उनको भनाइ छ ।
००००
निर्वाचन आचार संहिता, २०७८ ले मतदानको दिन मतदानकेन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । 
यस अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पाइँदैन । 

यस्तै कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवम् आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदानकेन्द्रमा प्रवेश गर्न नहुने व्यवस्था रहेको पनि निर्वचन आयोगले स्पष्ट गरेको छ । 

 यसैगरी मतदाताहरुले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाईटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान पाइनेछैन । 

यस्तै कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने आयोगले जनाएको छ । यस्तै मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार पैmलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन पनि रोक लगाइएको छ । 
००००
यसैगरी निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र हराएकाले आफ्नो विवरण पुष्टि हुने अन्य कागजात देखाएर मत खसाल्न दिन मातहतका निकायलाई निर्देशन दिएको छ । 
००००

लोकान्तर राउण्ड अपमा अन्य समाचार

निर्वाचन आयोगले मौन अवधिमा प्रचारप्रसार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा अध्यक्ष प्रचण्डबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको आयोगको ठहर छ ।आयोगले आचारसंहिता उल्लंघनकर्ताको रूपमा नाम सार्वजनिक किन नगर्ने, आचारसंहिता बमोजिम कारवाही किन नगर्ने भनेर बिहीबार स्पष्टीकरण सोधेको हो  । भरतपुर महानगरपालिका–२६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरेर भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका व्यक्तिको पक्षमा मत मागेको विशेष अनुगमन टोली, सुक्ष्म अनुगमन टोली र सुरक्षा निकायबाट जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट प्रचण्डपुत्री रेणु दाहाल मेयर पदमा उम्मेदवार छिन् । आयोगले प्रचण्डलाई आचारसंहिता उल्लंघनबाट नरोकेको आरोपमा प्रदेश प्रहरी प्रमुख पुजा सिंह र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारीलगायतलाई समेत स्पष्टीकरण सोधेको छ ।
००००
स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगका पदाधिकारीहरुले मत हाल्ने केन्द्र र समय तय सार्वजनिक गरिएको छ । आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मध्यपुर ठिमी–१ स्थित लोकन्थली उपस्वास्थ्य चौकीमा शुक्रबार बिहान ६ बजेर ५५  मिनेटमा मतदान गर्ने कार्यक्रम तय गरिएको छ । 

यस्तै आयुक्त ईश्वरी प्रसाद पौड्यालले सोही समय टिका विद्याश्रम मावि ललितपुरमा तथा रामप्रसाद भण्डारीले मलन विद्या मन्दिर स्कुल अनामनगरमा बिहान ८ बजे मतदान गर्नेछन् । यसैगरी बिहान ६ बजेर ५५ मिनेटमै डा जानकी कुमारी तुलाधरले लमजुङको सुन्दर बजार नगरपालिका२ स्थित महेन्द्र मन्दिर माविमा, सगुन शम्शेर जबराले टोखास्थित थापासी निमावीमा र सचिव गोकर्णमणि दवाडीले नागार्जुन नगरपालिकास्थित रिडमोडल कलेज केन्द्रमा मतदान गर्नेछन् । 
००००
प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । पहिलो दिन २७ सञ्चारमाध्यम कारबाहीमा परेका थिए ।
००००
नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्यसहितका नेताहरु पक्राउ परेका छन् । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा  बिहीबार साँझ काठमाडौंको असन चोकमा आयोजित मसाल जुलुस कार्यक्रममा पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरुमा पोलिटब्युरो सदस्य  दिनेश शर्मा, केन्द्रीयहरु शारदा महत, वसन्त बोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, राम नेपाली सहित ढोग प्रसाद उपाध्याय, सुरेश तामाङ्, सुनिता बुढाथोकी, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, अजय बज्राचार्य, टीका परेल, राजु लामा, अब्दुल सलाम, रामभक्त आचार्य लगायतका  रहेका छन् ।
००००
ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका(७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने कार्य गरेको अभियोग छ ।
००००
स्थानीय तह निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ ।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीवार जारी गरेको सूचनामा वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार ४ दिन अदालत बन्द रहने उल्लेख छ ।
००००
निर्वाचन आयोगले एम्बुलेन्स, खानेपानी ट्यांकर,  दमकल, शव वाहन, दुरसंचार, दुग्ध संस्थान, अस्पताल, चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला संकलन गर्ने सवारी साधन, कुटनीतिक निकाय सहितका लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ।

आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले  यी निकायहरूका लागि पास आवश्यक नपर्ने जानकारी दिएका हुन् ।
००००
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ गते लुम्बिनीको औपचारिक भ्रमण गर्ने घोषणा बिहीवार गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदीले बुद्धपूर्णिमाको अवसरमा लुम्बिनी भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । 

देउवा र मोदी मायादेवी मन्दिरमा हुने पूजाअर्चनामा सहभागी हुनेछन् । उनीहरूले लुम्बिनीमा बौद्ध संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा बन्न लागेको भवनको संयुक्त शिलान्यास पनि गर्नेछन् । 
००००
स्थानीय तह निर्वाचन २०७९ का सम्पूर्ण उम्मेदवारको विवरणसहित लोकान्तर डट्कमको इलेक्सन विशेष पोर्टल शुरू भएको छ । ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका सबै राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको विवरण साइटमा समेटिएको छ ।

कमेन्ट गर्नुहोस्