
प्रदेश १ की एक प्रदेश सांसद मतदान गर्नबाट वञ्चित भएकी छन् ।
विराटनगर घर भएकी प्रदेश सांसद सावित्राकुमारी रेग्मीको नाम अर्काे पालिकामा राखेर प्रकाशित गरेपछि उनी मतदानबाट वञ्चित भएकी हुन् ।
२०४५ सालदेखि विराटनगरको पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रबाट मतदान गरे पनि यसपटक भने आयोगले सुन्दहरैँचामा उनको नाम पठाइदिएको छ ।
आयोगको लापरबाहीका कारण मतदान गर्नबाट वञ्चित भएको उनले बताइन् । ‘बिहीवार पार्टीका साथीहरूले मतदाता नामावलीमा नाम खोज्दा नभेटेपछि मलाई जानकारी गराएका थिए,’ उनले भनिन्, ‘मैले तुरुन्तै निर्वाचन अधिकृतलाई पनि भनेँ ।’ उनले यो विषय आयोगले हेर्ने भएकाले केही गर्न नसकिने जनाएपछि स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएको उनले बताइन् ।
यता प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले मतदाता नामावली अन्यत्र भेटिएपछि केन्द्रमा जानकारी गराएको बताए । मतदाता नामावलीको विषयमा आयोगको केन्द्रले टुंगो लगाउने उनको भनाइ छ ।