मुगु, १ साउन – लामो समयदेखिको अबिरल वर्षाका कारण नाग्म –गमगढी सडक खण्ड करिब १६ दिनदेखि अवरुद्ध भएको छ । लगातारको वर्षात्का कारण बाटो विग्रिएपछि उक्त सडक खण्डमा कुनैपनि सवारीसाधन चल्न सकेका छैनन् ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म गमढी ९० किलोमिटर कच्ची सडकका कारण साना तथा ठूला सवारीसाधन ठाउँ –ठाउँमा अड्किएका छन् । उपभोग्य वस्तु बोकेका मालबाहक गाडी तथा यात्रुबाहक सवारीसमेत बाटो अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका छन् ।
लगातारको वर्षात्ले राजमार्ग तथा ग्रामीण सडकहरु भत्किएपछि आपत्कालीन बिरामीहरुलाई पनि समस्या भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको एम्बुलेन्ससमेत चल्न सकेका छैनन् ।
बाटो निकै चिप्लो र धेरै ठाउँमा भत्किएका कारण जुम्लातिर रिफर गरिएका बिरामीहरुलाई समस्या भएको र ग्रामिण भेगबाट बिरामीहरुलाई अस्पताल सम्म ल्याउन समस्या भएको एक एम्बुलेन्स चालक राजबहादुर रोकायाले लोकान्तरलार्य बताए ।
सुर्खेतबाट उपभोग्य सामग्री लिएर आएका सवारी १६ दिन पुगिसक्दा अझै गमगढी पुग्न सकेका छैनन । ‘बाटामा धेरै गाडीहरु फसेका छन्, यसपटकका ट्रिपमा निकै दु :ख पाइयो,’ ३७७४ नम्बरका ट्याक्टर चालक दैलेखका भरत शाहीले भने । सवारी अवरुद्ध हुँदा आफूहरुलाई घाटा भएको उनले बताए ।
सडक डिभीजन कार्यालय जुम्लामा सडक खुलाउन पहल गरिए पनिसडक कार्यालयले कुनै चासो नदिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसीले बताए । बाटो खुलाउन पहल भइरहेको उनलेब बताए ।
सडक चाँडै सुचारु गर्न तत्काल पहल गरिने छाँनाथ राराँ नगरपालीकाका मेयर जरीजङ्ग शाहीले बताए ।
सडक अवरोध भएपछि बजारमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । त्यसका कारण उपभोग्य वस्तुको मूल्य बढ्दै पनि गएको छ ।
कच्ची सडकका कारण हरेक वर्षा मौसममा मुग्लेली जनता सास्ती पाउँदै आएका छन् ।