
तेह्रथुमका ४ पालिकामा पुरानै नेतृत्व निर्वाचित भएको छ ।
स्थानीय चुनावबाट जिल्लाका ६ पालिकामध्ये ४ पालिकामा पुरानै नेतृत्व आएको हो ।
लालीगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ हजार १३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बु ३ हजार ३४४ मत ल्याएर पराजित भएका छन् ।
यसअघि पनि मावोहाङसँग पराजय भएका लिम्बुले यसपटक पनि जीत निकाल्न सकेनन् । उपमेयरमा कांग्रेसकी जमुना मगर कार्की विजयी भएकी छन् । उनी गत चुनावमा एमालेबाट उपमेयरमा उठेकी थिइन् । कांग्रेसकी तिला पोख्रेलले जित्दा उनी पराजित भइन् । उनी कांग्रेसमा प्रवेश गरेर उपमेयरमा विजयी भएकी हुन् ।
म्याङलुङ नगरपालिकामा एमालेका संजय तुम्हाङ्फे फेरि दोहोरिएका छन् । ५ हजार ११७ मत ल्याएर उनी विजयी हुँदा कांग्रेसका अर्जुन तुम्हाङ्फेले ४ हजार ४७८ मत ल्याएर पराजित हुनुपर्यो ।
उपमेयरमा एमालेकी जमुना सुवेदी ५ हजार २१० मतसहित निर्वाचित भएकी छन् । नेकपा एकीकृत समाजवादीकी पार्वती सानु डागीले ४ हजार ४१४ मत पाइन् । उनी यसअघि एमालेबाटै निर्वाचित उपमेयर हुन् ।
एमालेले टिकट नदिएपछि उनी नेकपा एसमा प्रवेश गरेर गठबन्धन हुँदा कांग्रेसको चुनाव चिह्नबाट उपमेयरमा उठेकी थिइन् ।
मेन्छायायेम र छथर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष नै पुरानै अनुहार दोहोरिएका छन् ।
मेन्छायायेम गाउँपालिकामा यादवबहादुर खापुङले २ हजार ५५ मत ल्याएर विजयी हुँदा कांग्रेसका धनबहादुर लिम्बुले २ हजार २१ मत मात्रै पाए । उपाध्यक्षमा कांग्रेसकी गीता तिम्सिना विजयी भएकी छन् । गीताले १ हजार ९८६ मत पाउँदा एमालेकी प्रेमलता घिमिरेले १ हजार ९७४ मत मात्रै ल्याएकी छन् । अघिल्लो चुनावमा पनि उनीहरू नै विजयी बनेका थिए ।
छथर गाँउपालिकामा भने सन्तविर लिम्बु र तारा खरेल नै दोहोरिएका छन् । गठबन्धन हुँदा पनि यसपालि एमालेले अध्यक्ष र उपाध्यक्ष् दुवै जितेको छ । सन्तविर (सन्तोष) तिगेलाले ३ हजार ९१५ मत ल्याएर दोस्रो कार्यकाल दोहोर्याउँदा माओवादी केन्द्रका इन्द्रबहादुर इमसङले ३ हजार ३०६ मत मात्रै प्राप्त गरेका छन् ।
उपाध्यक्षमा तारा खरेलले ३ हजार ७६२ मत ल्याएर विजयी बन्दा कांग्रेसका टेकराज लिम्बुले ३ हजार ६०२ मत प्राप्त गरेका छन् ।
फेदाव गाउँपालिका र आठराई गाउँपालिकामा एमाले पराजय बनेको छ । फेदाव गाउँपालिकामा कांग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् । निवर्तमान मेयर एमालेका हरिप्रसाद चोङवाङले ३ हजार ८६९ मत ल्याउँदा भेटवाल ४ हजार ४१ मत ल्याएर विजयी बनेका छन् । उपाध्यक्षमा कांग्रेसकी सुनिता पहिम ३ हजार ९८५ मतसहित निर्वाचित हुँदा एमालेकी गीता थापा पराजित बनिन् ।
आठराई गाउँपालिकामा कांग्रेसका दिलकुमार पाहिम विजयी हुँदा एमालेका रामचन्द्र थपलिया पराजित बनेका छन् । थपलियाले ४ हजार ८ मत मात्रै प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज इङनाम ४ हजार ८० मतसहित विजयी भएका छन् ।
निवर्तमान उपाध्यक्ष रुपा कन्दङवाले ४ हजार ७० मत ल्याएर पराजित बनेकी थिइन् ।