
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा विवाद भएको छ ।
मतगणनामा खटिएका कर्मचारीले उम्मेदवारले पाएको मतभन्दा फरक ‘ईन्ट्री’ गरेको भेटिएपछि विवाद सिर्जना भएको हो ।
कांग्रेसका उम्मेदवारले पाएको मतलाई घटाएर ईन्ट्री गरेको भन्दै कांग्रेस सहितका गठबन्धनका कार्यकर्ताले मतगणनास्थलमा नाराबाजी गरिरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा कमजोरी भएको स्वीकार गर्दै विज्ञप्ति निकालेको छ । मंगलवार २ र १६ नम्बर वडाको मतगणना चलिरहेका बेला विवाद भएको छ ।
अभिलेख प्रविष्ट गर्ने बेला फरक पर्न गएको भन्दै आयोगले अभिलेख भिडाएर हस्ताक्षरपछि मात्र ईन्ट्री गर्ने गरी व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।
कम्प्युटरमा बसेका कर्मचारीले एमालेको १४ मतलाई ४१ मत बनाइदिएको कांग्रेसको आरोप छ । २ नम्बर वडाको गणनामा एमालेले पाएको वास्तविक ५९ मतलाई ९५ भनेर टिपाइएको मतगणनामा बसेका एक जना कांग्रेस प्रतिनिधिले बताएका छन् ।
