पौष १९, संक्रान्ति बजार, तेह्रथुम –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरूको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

मंगलबार आगलागी भएको स्थानको निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट उक्त रकम दिन लागिएको हो । आगलागीपीडित संक्रान्ति बजारमा दमकल खानेपानी खानेपानी आयोजना समेत सञ्चालन गर्ने प्रधानमन्त्रीले घोषणा गरे ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिवद्वतासमेत जनाएका छन् ।
गत पौष १ गते आगलागी हुँदा संक्रान्ति बजारका ३२ घरका ५६ परिवारमा पूर्ण क्षति भएका थिए । आगलागीबाट १४ करोड ८ लाख क्षतिको मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिइन ।
पीडितहरूलाई सरकारले यसअघि प्रतिघर १० हजार राहत र अस्थायी टहरा बनाएको थियो ।