
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ ।
स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस प्रवक्ता महतले संघ र प्रदेशको चुनावमा पनि तालमेल गरेर अघि बढ्ने बताएका हुन् ।
‘राष्ट्रिय चुनावमा पनि तालमेलमा जाने सोच छ, ४० प्रतिशत सीट समानुपातिक मतको आधारमा हुने भएकोले एउटै दलले बहुमत ल्याउन निकै कठिन छ,’ महतले भने, ‘अहिले कांग्रेसले एकल बहुमत ल्याउन कठिन भएकोले हामीले तालमेल गरेर जाने कुरा छ ।’
महतले स्थानीय तहको चुनावमा गठबन्धन सफल भएको बताए । ‘ओलीले संविधानविपरीत काम गरेको जुन परिवेशमा यो गठबन्धन बनेको थियो, चुनावसम्म जान्छ,’ महतले भने ।
कांग्रेसले स्थानीय तह निर्वाचनमा ३२६ सीट जित्ने सुनिश्चित भए पनि पार्टीभित्र अन्तर्घात नभएको भए ४०० सीट जित्ने सुनिश्चित रहेको दाबी गरे ।