०२ साउन २०८३, शनिबार

‘कबड्डी ४’लाई अहिलेसम्मकै सर्वाधिक शो, क्यूएफएक्स एक्लैले ९७ शो दियो

‘कबड्डी ४’लाई अहिलेसम्मकै सर्वाधिक शो, क्यूएफएक्स एक्लैले ९७ शो दियो

शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरूमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ शो उपलब्ध गराएको छ । 

क्यूएफएक्सले आफ्नो ११ वटा स्टेशनमा उक्त शो उपलब्ध गराएको हो । यो नेपाली चलचित्रले आजसम्म पाएको सर्वाधिक शो हो । 

चलचित्रलाई बिग मुभिज, रञ्जना सिनेप्लेक्स, वान् सिनेमाज, क्यूज सिनेमाज, एफक्यूब लगायतका मल्टिप्लेक्स हलहरूले पनि राम्रो शो दिएका छन् । 

चलचित्रका यसअघिका तीनवटै सिक्वेल सुपरहिट भएका थिए ।  सिक्वेलहरूको सफलता, स्टार कलाकारहरूको अभिनय, ट्रेलर र गीतका कारण चलचित्रले निकै राम्रो हाइप बनाएको छ । सोही कारण पनि मल्टिप्लेक्सहरूले चलचित्रलाई आफ्नो हलमा राम्रो शो उपलब्ध गराएका हुन् । 

मल्टीप्लेक्स हलहरूमा पाएको शो र आक्रामक अग्रिम टिकट बुकिङ हेर्दा चलचित्रले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । यो चलचित्रले लगानी भने प्रदर्शन अगावै डिजिटल र ओभरसिज राइट्सबाट सुरक्षित गरिसकेको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । 

मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार निर्माताका रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

‘कबड्डी ४ : द फाइनल म्याच’ अर्थात यसलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले पनि चलचित्रप्रति दर्शकको ठूलो क्रेज देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्