०७ असार २०८३, आइतबार

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहीवार हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् ।

वर्षाको समय शुरू हुन लागेको र विगतमा झैं खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफु विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताए ।

मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उनको भनाइ छ । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उनले बताए ।

बाढीपहिरोले क्षति नगरोस् भनेर अम्बाथान अडिट अगाडि तार ग्याबिन वाल लगाइने भएको छ । उनले पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका ४ घर स्थानीय सरकारसँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको  बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गरेर बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौं लैजान सकिने बताए ।

कमेन्ट गर्नुहोस्