
झापा, १९ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरे ।
कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘केही वर्ष अघिसम्म हामी घन्नबालीमा आत्मनिर्भर थियौं ।
नेपाल कृषिप्रधान देश हो भनेर पढ्यौं, पढायौं । तर, अहिले कृषिको उत्पादकत्व उत्साहजनक छैन । यो सुपर जोन कार्यक्रमले यसलाई बदल्नुपर्छ, बदल्नेछ । जमिनको चक्लाबन्दी, कृषिको आधुनिकीकरण, विविधिकरण, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लक्ष्य हो ।
फगत औपचारिकताका लागि होइन, कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्न विशेष अपील गर्न चाहन्छु । यो कार्यक्रमले कृषि क्रान्तिमा महत्वपूर्ण योगदान दिन सक्नुपर्छ ।’ सामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘हामी सत्ता पक्ष र प्रतिपक्षी मिलेर यहाँ आएका छौं ।
राजनीतिक सहमतिको माध्यमबाट अघि बढ्न यसले प्रेरणा दिन्छ, दिनुपर्छ । सरकार संविधान संशोधनमार्फत् संविधान कार्यान्वयनको बाटो खोल्न चाहन्छ । अब संसद खोलेर निर्वाचनमा जानुपर्छ । राम्रोलाई राम्रो भन्ने संस्कारको विकास गर्न सक्यौं भने देशले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटो लिन्छ, हामी सबैले त्यसैका लागि साझा संकल्प गरौं ।’
प्रधानमन्त्री प्रचण्डले आधुनिक ट्याक्टरद्धारा धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । स्मरण रहोस् यो समय धान रोप्ने समय होइन ।
रोपाईंमा सहभागि हुँदै प्रधानमन्त्री प्रचण्ड । तस्वीर, शिव दाहालको टुइटरबाट