
सरकारका एक मन्त्रीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि गरेको टिप्पणीलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै सभामुखसँग समय लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा बोल्दै गर्दा एमालेले आपत्ति जनाएका थिए ।
मन्त्री बडूले प्रतिपक्षी दलका नेताले बिहीवार संसदमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । त्यसपछि एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्रीलाई जे पायो त्यो बोल्न छुट नभएको बताए ।
त्यसपछि बोलेका मन्त्री बडूले सत्ता गुमाएको रोदन र कुण्ठा संसदमा व्यक्त गरेको बताए । त्यसपछि एमाले सांसदहरूले विरोध जनाएका थिए ।
त्यसपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतामाथि अप्रमाणित कुरा गरेर संसदको गरिमा घटाउने काम गरेको आरोप लगाए ।
अहिले संसदमा एमाले सांसद उठेर विरोध जनाइरहेका छन् ।