
दैलेखको आठबीस नगरपालिकाको ८ नम्बर वडाका तत्कालीन अध्यक्ष मुक्तिप्रसाद उपाध्यायसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा उपाध्यायसहित गणेश आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिलकुमार शाहीविरुद्ध पनि मुद्दा दर्ता गरेको हो ।
उनीहरूले विद्यालयमा आईसीटी व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६/०७७ मा सामान खरीद गर्दा चार लाख ९८ हजार रूपैयाँ रकम हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारका अनुसार विद्यालयमा बजेट विनियोजन नै नभएको अवस्थामा विभिन्न मितिमा आईसीटी व्यवस्थापनका लागि सोलार खरीद गर्न कोटेशन आह्वान गर्ने, कोटेशन छनौट गर्ने र खरीद नै नगरी सामान खरीद गरिसकेको भनेर विद्यालय व्यवस्थापन समितिको निर्णय गरेर भुक्तानी दिइएको पाइएको हो ।
'व्यवस्थापन समितिको सोही निर्णयको आधारमा झुट्टा बिल कागजात तयार गरी जिल्ला दैलेख, आठबिस नगरपालिका वडा नम्बर ८ को कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिससमेत गरी रकम भुक्तानीको लागि आठविस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दैलेखमा ४ लाख ९८ हजार रकम भुक्तानी लिने उद्देश्यले सरकारी रकम खाने मास्ने उद्देश्यका साथ गैरकानूनी लाभ लिन गलत लिखत तयार गरी भ्रष्टाचार गरेको' अभियोगपत्रमा उल्लेख छ ।