
नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा)ले बजेटमा सवारी साधन एसेम्बल उद्योग लगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरूमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने नीति निकै सराहनीय भएको बताएको छ ।
सोमवार एक विज्ञप्ति जारी गर्दै नाडाले सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्य अनुरुप ल्याइएको नीति निकै राम्रो भएको बताएको हो ।
त्यसैगरी सरकारले १०० किलोवाट क्षमताका विद्युतिय सवारी साधन, १५०० सि.सि सम्मका कम्बसन इन्जिन भएका सवारी साधन लगायत २०० सि.सि.सम्मका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुलाई आवश्यकताको सवारी साधनको रुपमा लिएको देखिएको भन्दै यसमा पनि नाडा सकारात्मक भएको जनाएको छ ।
बजेटमा नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ । नाडाले त्यो बजेट राम्रो भएको भन्दै नेपालमा चाँडै प्रदर्शनीहल निर्माण हुने अपेक्षा राखेको समेत जनाएको छ ।
बजेटले १०० किलोवाट क्षमताभन्दा बढीका विद्युतीय सवारी साधन तथा २०० सीसीभन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा अन्तःशुल्क तथा भन्सार महशुलमा बृद्धि गरेकोमा भने नाडाको असन्तुष्टी छ ।
त्यसले उच्च किलोवाट क्षमता भएका विद्युतीय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालन गर्न कठीन मात्र हुने नभई आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने नाडाले गुनासो गरेको छ ।
यसमा लाग्ने महशुलमा केही सुधार गर्न समेत नाडाले माग गरेको छ ।