
सरकारले तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायी आन्दोलित भएका छन् ।
व्यवसायीले जेठ २० गतेदेखि ट्रकहरू घर र ग्यारेजमा थन्क्याई ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् ।
लुम्बिनी प्रदेशका ट्रक व्यवसायीको निर्णयलाई पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले समेत कार्यान्वयन गर्ने जनाएको छ ।
सरकारले तोकेको भाडा दर व्यवहारमा नपाएकाले आन्दोलन स्वरूप जेठ २० गतेदेखि ट्रकहरू घरमा, ग्यारेजमा थन्क्याई ढुवानी रोक्ने विषयमा ट्रक व्यवसायीले सहमति गरेका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले सरकारले तोकेको भाडा नपाउँदासम्म समितिमा दर्ता भएका कुनै पनि ट्रकहरू नचल्ने र तोकेको भाडा पाएमा गाडीहरू सहज रूपमा चल्ने बताए ।
ढुवानी व्यवसायी संघ बुटवलका अध्यक्ष श्याम हमालले ट्रकका लागि सरकारले तोकेको भाडा नदिई चलाउने ट्रासपोर्टहरूलाई कारवाही गरिने चेतावनी दिए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत मात्रै २ हजार बढी ट्रकहरू सञ्चालनमा छन् । सरकारले जेठ २ गतेदेखि लागू गरेको भाडा दरअनुसार भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५८० रुपैयाँ छ ।