
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) भित्र सरकारमा सामेल मन्त्री हेरफेरको विषयमा छलफल शुरू भएको छ ।
शनिवार र आइतवार बसेको नेकपा एसको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल भएको हो ।
तत्काल मन्त्री फेर्ने गरी गृहकार्य भइरहेको वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।
पार्टी सरकारमा सहभागी हुने बेला नै मन्त्रीहरूलाई ६ महिना परीक्षण काल भनिएकाले मन्त्री फेर्ने तयारी भएको एक नेताले बताए ।
२०७८ असोज २२ गते नेकपा एसले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री पठाएको थियो । पछि गोविन्द वन्दी नेकपा एसकै सिफारिशमा कानून मन्त्री बनेका थिए ।
सरकारमा सहभागी स्वास्थ्य मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने गृहकार्य भइरहेको स्रोतले बतायो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेर माधव नेपाललाई साथ दिएका आले र श्रेष्ठलाई मन्त्री बनाइएको थियो ।
यसअघि मन्त्री बन्ने चर्चामा रहेका मेटमणि चौधरी, संसदीय दलका सचेतक जीवनराम श्रेष्ठ, प्रतिनिधि सभाका विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का र सरला यादवको मन्त्री बन्ने चर्चा छ ।
६ महिना पछि चुनाव हुने भएकाले गैर सांसद पनि मन्त्री बन्ने सम्भावना रहेको नेकपा एस निकट स्रोतले बतायो ।
एक दुई दिनमै मन्त्रीहरू फेर्ने गरी गृहकार्य भइरहेको नेकपा एस स्रोतको दाबी छ ।