
निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाको समूहले बनाउन लागेको नयाँ चलचित्रलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् ।
निर्माता र निर्देशक बिसीबीच लिखित सम्झौता भएको छ ।
निर्माता एवं अभिनेता गिरीले निर्देशकका रूपमा बिसीलाई लिइएको लोकान्तरलाई जानकारी दिए । अन्य जानकारी भने १ हप्तापछि मात्रै दिइने उनले बताए ।
‘निर्देशक मात्र फाइनल हुनुभएको हो । अरु केही फाइनल गरेका छैनौं,’ गिरीले लोकान्तरसँग भने, ‘बाँकी सबै १ हप्तापछि जानकारी दिनेछौं ।’
स्रोतका अनुसार अहिले दीपक–दीपाले ‘छक्का पञ्जा ४’ नभई ‘माग्ने राजा’ नाममा फिल्म बनाउन लागेका हुन् । दीपकराजले भने नाम तय भई नसकेको बताए ।
असार पहिलो हप्ताबाट फिल्मको छायांकन शुरू गर्ने टीमको तयारी छ । ‘होस्टेल’ निर्देशनसँगै नेपाली फिल्ममा उदाएका बिसीले ‘गाजलु’, ‘द ब्रेकअप’, ‘ग्याङस्टार ब्लुज’, ‘घामड शेरे’ जस्ता फिल्म निर्देशन गरेका छन् ।
दीपक–दीपाको यसअघिको फिल्म ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए । ‘छक्का पञ्जा’का ३ वटै सिक्वेललाई भने दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् ।