अमेरिकी संस्थापन पक्षको भित्री कुराको जानकारी राख्ने भनी विश्वास गरिएको पत्रिका द न्युयोर्क टाइम्समा बुधवार छापिएको एक खबरले अमेरिकी गुप्तचर निकाय कति निकम्मा छ भन्ने पुष्टि गरेको छ ।
जुलियन ई बार्न्सले लेखेको ‘यूएस ल्याक्स ए क्लीयर पिक्चर अफ युक्रेन्स वार स्ट्राटेजी, अफिसियल्स से’ शीर्षकको समाचारमा अमेरिकी गुप्तचर निकायहरूसँग युक्रेनमा भइरहेको सैन्य कारवाहीको बारेमा पर्याप्त सूचना नरहेको बरू रुसी सेनाका कारवाही तथा सफलता र असफलताको जानकारी रहेको बहालवाला तथा पूर्व अधिकारीहरूले बताएको भनी उल्लेख छ ।
त्यसमा थप लेखिएको छ, ‘अमेरिकी सरकारलाई सूचनाको अभाव भएकाले युक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता उपलब्ध गराउनुपर्दा कस्तो लक्ष्य राखेर उक्त सहायता दिने भनी अप्ठ्यारो परेको छ ।’
भनाइको मतलब, युक्रेन सरकारले अमेरिकालाई आफ्नो सैन्य रणनीतिका विषयमा स्पष्ट नबताउने गरेको छ । अमेरिकालाई अर्बौं डलरको हतियार दिनका लागि अनुरोध गर्ने तर ती हतियारहरू कुन प्रयोजनमा कसरी प्रयोग भइरहेका छन् भन्ने सत्यतथ्य जानकारी नदिने काम युक्रेनले गरिरहेको छ ।
यस क्रममा अर्बौं डलरको चलखेल भइरहेको छ तर त्यसको वाञ्छित परिणाम आइरहेको छैन । अमेरिकाले गरेको सहयोगको सही परिणाम आउने हो भने अहिलेसम्म रुसी सेना युद्धमोर्चाबाट पलायन भइसक्नुपर्ने थियो ।
अमेरिकी गुप्तचर निकायको अक्षमतालाई पनि युक्रेन युद्धले थप उजागर गरेको छ । हुँदै नभएको आमविनाशकारी हतियार सद्दाम हुसेनसँग छ अनि सद्दामको सम्बन्ध अलकायदाका नेता ओसामा बिन लादेनसँग छ भन्ने गुप्तचर सूचनाका आधारमा अमेरिकाले इराक आक्रमण गरेको थियो ।
पछि ती दुवै सूचना पूरै झूटो साबित भएका थिए । त्यस्तो गुप्तचर निकायको योग्यतामा कसरी विश्वास गर्न सकिन्थ्यो र ?
युक्रेनका विषयमा गुप्तचरी विफल भएको भन्दै गत मे महिनामा अमेरिकी गुप्तचर निकायले बृहत् समीक्षा शुरू गरेको छ । रुसले आक्रमण गरेको खण्डमा युक्रेनी सेनाले कति समयसम्म प्रतिकार गर्न सक्छन् भन्ने विषयमा अमेरिकी गुप्तचरहरूले सही आकलन गर्न नसकेकाले कहाँनिर चुक भयो भनी समीक्षा गर्न खोजिएको हो ।
अफगानिस्तानमा पनि तालिबानको द्रुत गतिको विजय आकलन गर्न नसकेको विषयलाई समीक्षा गरिनेछ । यसका लागि अमेरिकी संसद् सिनेटको इन्टेलिजेन्स कमिटीले अफिस अफ द डाइरेक्टर अफ नेसनल इन्टेलिजेन्स, रक्षा मन्त्रालय र सीआईएलाई पत्र पठाएको छ ।
न्युयोर्क टाइम्सको यस समाचारबाट के अर्थ लगाउन सकिन्छ भने अमेरिकाले युक्रेनमा चलाएको प्रोक्सी युद्धमा बिस्तारै हार स्वीकार गर्न थालेको छ । अहिलेसम्म रुसको हारिरहेको झूटो तस्वीर प्रस्तुत गरेर पश्चिमी जनतालाई मूर्ख बनाइरहेको भए पनि अमेरिकाले वास्तविकतालाई बेमनले स्वीकार गर्न थालेको छ । त्यस हारलाई ढाकछोप गर्न अमेरिकाले गुप्तचर निकायको असफलताको भाष्य निर्माण गर्न खोजिरहेको देखिन्छ ।
अमेरिकाको युद्धपरस्त परराष्ट्रनीतिलाई मन नपराउने स्वतन्त्र विश्लेषकहरूको नजरमा अमेरिकाले रुसका बारेमा कहिले पनि स्पष्ट चित्र बनाउन सकेको छैन । रुसले युक्रेनमा चलाएको विशेष सैन्य कारवाहीको प्रकृतिलाई अमेरिकाले कहिले पनि बुझ्न कोशिश गरेन अनि युक्रेनको झूटो प्रचारबाजीलाई ब्रह्मवाक्य ठानेर स्वीकार गरिरह्यो । युक्रेनको भनाइलाई आफ्नो गुप्तचर निकायमार्फत स्वतन्त्र पुष्टि गर्ने जमर्को अमेरिकाले गर्दै गरेन ।
अमेरिकाका स्वतन्त्र सैन्य विश्लेषक ल्यारी जोनसनका अनुसार, अमेरिकी गुप्तचरहरूले युक्रेनमा कम्तीमा नौवटा प्रश्नको उत्तर खोज्न सक्नुपर्थ्यो ।
पहिलो, युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की, उनको मन्त्रिपरिषद् तथा उनका सल्लाहकारहरूको योजना तथा उद्देश्यको सूचना अमेरिकाले किन संकलन नगरेको हो ?
युक्रेनको रक्षा मन्त्रालयले युद्धको कस्तो योजना बनाएको छ अनि त्यस योजनालाई कसरी कार्यान्वयन गरिरहेको छ ?
युक्रेनी सेनाको कमान्ड संरचना कस्तो किसिमको छ ?
युक्रेनका विशेष ठाउँमा कुन सैन्य इकाइहरू तैनाथ गरिएका छन् ?
ती इकाइहरूमा पर्याप्त जनशक्ति र हातहतियार छन् ?
रुसीहरूसँगको भिडन्तमा युक्रेनी सैन्य इकाइहरूले कस्तो क्षति बेहोरेका छन् ?
युक्रेनका सशस्त्र इकाइहरूले कस्तो प्रदर्शन गरेका छन् र कस्तो किसिमको क्षति बेहोरेका छन् ?
के युक्रेनको क्षेप्यास्त्र हतियारहरू साबुतै छन् र रुसी सैन्य इकाइमाथि प्रभावकारी आक्रमण गर्न सकिरहेका छन् ?
युक्रेनी वायुसेवा युक्रेनको हवाईक्षेत्रमा रुसको नियन्त्रणलाई चुनौती दिन सक्षम छ ?
यी प्रश्नहरूको सन्तोषजनक उत्तर नखोजी युक्रेनलाई हातहतियार उपलब्ध गराउनु बाइडन प्रशासनको घोर अक्षमता भएको जोनसनको निष्कर्ष छ । त्यस निष्कर्षलाई न्युयोर्क टाइम्सको रिपोर्टले पुष्टि पनि गरेको छ ।
त्यसमा रिपोर्टमा उल्लेख गरिएअनुसार, युक्रेनको सैन्य रणनीति तथा परिस्थितिको पूर्ण चित्र प्राप्त नगरिकन बाइडन प्रशासनले उसलाई रकेट आर्टिलरी सिस्टम जस्ता नयाँ हतियार उपलब्ध गराएको छ । युक्रेनको पूर्वी भागमा रहेको डोनबास क्षेत्रमा दुवै पक्षले भारी क्षति बेहोरिरहँदा युक्रेन पश्चिममा पाइने शक्तिशाली हतियारको प्रतीक्षा गरिरहेको छ ।
यसबाट के स्पष्ट हुन्छ भने युक्रेनमा भारी हतियार चलाउन सक्षम मानिस छन् कि छैनन् भन्ने थाहा नपाइकनै अमेरिकाले हतियार पठाउन लागेको छ । अनि ती भारी हातहतियार युद्धभूमिमा तैनाथ गर्न मिल्छ कि मिल्दैन भनेर पनि अमेरिकाले पर्याप्त अध्ययन गरेको छैन ।
यस्तो अध्ययन गुप्तचर निकायले गरेर सरकारलाई ब्रीफिङ गर्ने हो । तर ती निकायका अधिकारीहरू कि त अक्षम छन् कि सत्यतथ्य बताउन डराउँछन् ।
त्यसो त अमेरिकाले अहिलेसम्म लडेका सबै प्रमुख युद्धहरू हारेको इतिहास रहेकाले गुप्तचर निकाय मात्र नभई सम्पूर्ण प्रशासनिक संयन्त्र नै अक्षम रहेको पुष्टि हुन्छ । अफगानिस्तान र इराक जस्ता साना शक्तिहरूविरुद्धको युद्धमा पनि अमेरिका विजयी भएन भने रुस जस्तो सैन्य महाशक्तिलाई हराउन सकिन्छ भन्ने भ्रम अमेरिकाले फैलाउनु हास्यास्पद देखिन्छ ।
यसरी युक्रेनविरुद्ध रुसले चलाएको विशेष सैन्य कारवाहीका विषयमा अमेरिकाले बनाएको गलत भाष्य चकनाचुर भइसकेको छ । अमेरिकाको बेइज्जतीपूर्ण हारलाई कसरी छविमा दाग नलाग्ने गरी प्रस्तुत गर्ने भनी शाब्दिक अभ्यास भइरहेको न्युयोर्क टाइम्सको समाचारले संकेत दिन्छ । बाइडन प्रशासन गुप्तचर निकायमाथि दोष थोपरेर पानीमाथिको ओभानो बन्ने कोशिश गरिरहेको छ ।
स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिए पनि यस युद्धमा युक्रेनका ५१ हजारभन्दा बढी सैनिक मारिइसकेको र ६० हजारभन्दा बढी सैनिक युद्धभूमि छोडेर भागिसकेको बताइन्छ । त्यसका साथै पश्चिमले उपलब्ध गराएको हातहतियार पनि धेरै प्रभावकारी नरहेको स्पष्ट हुन्छ ।
रुसले पनि धनजनको उल्लेख्य क्षति बेहोर्नुपरेको छ र उसका उच्च दर्जाका अधिकृतहरू पनि मारिएका छन् तर रुसले युक्रेनको २० प्रतिशत भूमि आफ्नो नियन्त्रणमा लिन सफल भइसकेको छ ।
युद्ध १०६ दिनमा आइपुग्दा डोनबास क्षेत्रको सेभेरोडोनेत्स्कलाई कब्जामा लिनका लागि रुसी र युक्रेनी सैनिकहरूबीच भीषण लडाइँ चलिरहेको छ । उक्त शहरको अधिकांश भाग रुसको नियन्त्रणमा पुगेको लुगान्स्कका गभर्नर सर्ही हाइदाइको भनाइ छ ।
रणनीतिक रूपमा महत्त्वपूर्ण सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रुसको पूर्ण नियन्त्रण कायम भएमा युक्रेनले लुगान्स्क क्षेत्र पूरै गुमाउनेछ । युक्रेनका लागि त्यो अपूरणीय क्षति हुनेछ । अमेरिकी गुप्तचर निकायले युक्रेनलाई पुग्ने उक्त क्षतिको आकलन गर्नै सकेन ।
त्यसो त यो युद्ध लम्ब्याइरहँदा अमेरिकाको हतियार उद्योगलाई फाइदा पुगिरहेको छ । अमेरिकी प्रशासन हतियार कम्पनीहरूको मुट्ठीमा रहेको सर्वविदितै छ । युक्रेनलाई हतियार पठाउने नाममा अमेरिकी सरकारले हतियार कम्पनीहरूसँग भारी मात्रामा हतियार किनिरहेको छ ।
त्यसैले हतियार उद्योगको स्वार्थ पूरा भइसकेकाले गुप्तचर निकायको असफलताको बहाना देखाएर अमेरिका यस युद्धबाट निस्कन खोजेको हुन सक्छ । त्यसका साथै अमेरिकी धनाढ्यहरूको सम्पत्ति शुद्धीकरणका लागि पनि युक्रेन युद्ध राम्रो बहाना बनेको छ र त्यो काम पनि पूरा भइसकेको हुन सक्छ ।
त्यसैले संस्थापन पक्षसँग निकट रहेको न्युयोर्क टाइम्समा गुप्तचर निकायको असफलताको खबर छपाएर बाइडन प्रशासनले अमेरिकाको अर्को हारलाई पाच्य रूपमा प्रस्तुत गर्न खोजेको निष्कर्ष निकाल्न सकिन्छ । रुसले युद्ध हारिरहेको छ भन्दै झूटो प्रचारबाजी गर्ने पश्चिमका मूलधारे सञ्चारमाध्यमहरूले अहिले आएर वास्तविकता बताउन थालेको पनि यसबाट स्पष्ट हुन्छ ।