१८ असार २०८३, बिहीबार

नेपालमा उत्पादित ३६४ मेगावाट विद्युत् भारत निर्यात शुरू, यस्तो छ अधिकतम र न्यूनतम मूल्य

नेपालमा उत्पादित ३६४ मेगावाट विद्युत् भारत निर्यात शुरू, यस्तो छ अधिकतम र न्यूनतम मूल्य
प्रतिकात्मक तस्वीर

नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रवारबाट भारत निर्यात गर्न शुरू गरेको छ । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत जेठ १९ गतेबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री शुरू गरेको थियो । 

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो । 

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत् प्राधिकरणले थप ४ जलविद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । 

शुक्रवारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्स लिमिटेडकोे लिखु–४ बाट उत्पादित विद्युत् निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री शुरू भएको हो । 

प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ । 

पानी परेसँगै नदीनालामा पानीको वहाब बढेर विद्युत् गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत् भारतीय बजारमा बिक्री हुन थाल्नु २ मुलुकबीचको विद्युत् व्यापारका लागि कोशेढुंगा भएको बताए ।

‘स्वीकृत क्षमता अनुसारकै विद्युत् निर्यात शुरू भएसँगै २ मुलुकका प्रधानमन्त्रीले संयुक्त रूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ यो २ मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुंगा हो, यसले २ मुलुकबीचको व्यापार घाटालाई समेत कम गर्नेछ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत् निर्यात गरिरहेका छौं, यसबाट मुलुकभित्र उत्पादित विद्युत् बिक्री गर्न नसकी खेर फाल्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ, आगामी दिनमा थप विद्युत् निर्यातका लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल गरिरहेका छौं, यसको नतिजा छिट्टै देखिनेमा आशावादी छौं ।’

उनले २ मुलुकबीचको विद्युत् व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिए ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । 

प्राधिकरणले शुक्रवारका लागि विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२  रुपैयाँ (७.१४ भारु) रहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत् निर्यात गरिन्छ । 

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ । 

salt training

कमेन्ट गर्नुहोस्